गैरकानुनी काममा संग्लग्न्न रहे प्रचलित कानुनअनुसार सजायँ हुन्छ
आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित

माल्टा आउने वैधानिक प्रक्रिया के हो ? माल्टाको समस्याबारे लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनसँग हामीले जिज्ञासा राखेका छौं। कुराकानीको सम्पादित अंश :-

खासमा रोजगारीका लागि माल्टा आउने बैधानिक प्रकिया के -हो ?

माल्टाको एजेन्सीले मागपत्र तयार गर्छ र  नेपालको एजेन्सीसँग कन्ट्राक पेपर गरेको हुन्छ। नेपालको एजेन्सीलाई कामदारहरु छनोट गरेर माल्टा पठाउने जिम्मेवारी पाएको हुन्छ। लण्डन दूतावासले मागपत्रलाई प्रमाणीकरण गरेर आवश्यक भिसा प्रक्रिया गरेर माल्टा आउने एउटा औपचारिक प्रक्रिया हो। जुन धेरै देशहरुमा कायम छ।

अर्कोचाहि कुनै होटल वा रेष्टुरेन्टहरुमा त्यहाँको रोजगारदातामार्फत व्यक्तिगत स्पोन्सरसिपमा आउन सकिन्छ। स्पोन्सरसिप झिकाउने यो तरिकाबाट माल्टामा आउने नेपालीहरुको  संख्या ठूलो छ। यो पनि बैधानिक नै हुन्छ । तर, दूतावासको नोटिसमा चाहिँ हुन्न। त्यसलाई दूतावासले प्रमाणीकरण गरेको हुँदैन। माल्टाको दिल्लीस्थित दूतावासबाट भिसा लागेर नै आएको हुन्छ।

तपाईंहरुले प्रमाणीकरण गरेका कामदारहरुले माल्टा आउनेबित्तिकै काम पाउँछन् ?

पाउँछन्। त्यसरी आएका नेपालीहरुलाई कुनै समस्या नै छैन।

हालसम्म प्रमाणीकरण गरेको संख्या कति छ 

दूतावासले अहिलेसम्म करिव १ हजार ८ सय कामदारहरुको प्रमाणीकरण गरेको छ।

माल्टामा ३ हजार बढी नेपाली कामदारहरु छन् भनिन्छ । त्यसोभए बाँकी सबै व्यक्तिगत स्पोन्सरसिपमा ल्याइएका हुन् ?

मैले पनि सुनेअनुसार एउटै व्यक्तिगत रूपमा दुई-तीन सय मान्छेसम्म त्यहाँ ल्याएको भन्ने सुनेको छु। तर, आधिकारिता मलाई पनि छैन। अर्कोचाहिँ केही एजेन्सीहरुले हाम्रो लेटरप्याडहरु, डकुमेन्टहरु कीर्ते गरेर, दुरुपयोग गरेर पनि मान्छे ल्याउने काम भयो भनेर दूतावासमा कम्प्लेन गरेका छन्। अर्कोतर्फ माल्टा सरकारको पनि भिसाको दुरुपयोग भयो भन्ने गुनासो छ।

व्यक्तिगत स्पोन्सरसिपमा मान्छे ल्याउने र त्यहाँबाट पोर्चुगल लगायत अन्य देशहरुमा पठाउने हुँदा माल्टा सरकारबाट  भिसाको दुरुपयोग भयो भन्ने गत बर्ष नै सुनिएको थियो। हामीले पनि उहाँहरुलाई इमिग्रेसनमा कडाई गर्नुपर्यो भनेका थियौं। आज माल्टा आउने र अर्को दिन अर्को देशमा जान खोज्नेलाई रोक्नु पर्यो भनेका थियौं।

व्यक्तिगत स्पोन्सरसिपमा मान्छे बोलाउने भन्दै बीचमा बसेर मोटो रकम असुल्ने नेपाली एजेण्डहरु थुप्रै छन् भन्ने पीडितहरुको आवाज छ। यस्तो काम बैधानिक हो त ?

त्यो हुनुपर्ने अवैधानिक नै हो। किनभने त्यो दूतावासको नोटिसमा पनि हुँदैन। कुन एजेन्सीमार्फत ल्यायो, कति उसलाई सेवा सुविधा दिने भनेर ल्याएको हो, कस्तो कन्ट्राक पेपर थियो, हामीलाई केही पनि जानकारी हुँदैन। दूतावासले प्रमाणीकरण गरेकोमा सबै टर्म्स एण्ड कन्डिसन हुन्छ। व्यक्तिगत रुपमा ल्याउने मान्छेबारे स्पोन्सरसिप गर्ने नै बढी जानकार हुन्छर जति पनि पैसा माग्न सक्ने अवस्था रहन्छ।

तर, तपाईहरुले प्रमाणीकरण गरेर आए पनिव्यक्तिगत स्पोन्सरसिपमा आए पनि नेपालमा श्रम स्वीकृति लिनुपर्छ नि। किन बुझ्दै नबुझी स्वीकृति गरिन्छ ?

हो, श्रम स्वीकृति चाहिन्छ। हामीले नेपाल सरकारलाई गत बर्षदेखि नै व्यक्तिगत रुपमा आउनेको गुनासो सुनिएको छ। मान्छेहरु आएर अन्य देशहरुमा जाने क्रम बढेको छ।भिसाको दुरुपयोग भनेर माल्टा सरकारले पनि दूतावासमा कम्प्लेन गरेको सन्दर्भमा यसलाई नियन्त्रण गर्नुपर्छ भनेर गतबर्ष नै श्रम मन्त्रालयमा पत्राचार गरेका थियौं।

लाखौँ रकम तिरेर माल्टा आएका\६ महिना बितिसक्दा पनि काम नपाएपछि घरबाट नै पैसा झिकाएर खानाबस्न बाध्य नेपालीहरु सयौंको संख्यामा रहेको बताइन्छ। त्यसो भए दूतावासले अब के गर्छ ?

हालसम्म पीडितहरु कसैले पनि आफू समस्यामा परेकोबारे दूताबासमा उजुर गरेका छैनन्। नेपालको कुन एजेन्सीमार्फत छनोट हुनुभयो वा कुन ब्यक्तिमार्फत छनोट हुनुभयो। कसरी माल्टा आउनुभयो ? माल्टामा आएपछि के कस्ता सुविधा पाइरहनुभएको छ। काम पाउनुभएको छ कि छैन ? तपाईको सम्पर्कमा को  हुनुहुन्थ्यो। कति पैसा तिर्नुभयो ? ती सबै डिटेल खुलाएर दूतावासमा आफ्नो उजुरी हाल्नका लागि म अनुरोध गर्छु।

गलत काम गरेको प्रमाण भेटिएमा एजेन्टहरुलाई कस्तो कारवाही हुन सक्छ ?

नेपाल सरकारका सम्बन्धित निकायहरुमा र माल्टा सरकारमा पनि जानकारी गराउने र उनीहरुलाई ब्ल्याक लिष्टमा राख्नेदेखि प्रचलित नियमअनुसार जे पनि कारवाही हुन सक्छ।

अन्त्यमा, दूतावासको अनुरोध के छ ?

मेरो अनुरोध के भने, एजेन्टहरुमार्फत बढीभन्दा बढी पैसा तिरेर कामको सन्दर्भ नबुझीकन सेवा सुबिधा नबुझिकन आउनु हुन्न। र अहिले कोरोनाका कारणले पनि त्यहाँ आर्थिक अवस्था खस्किएको छ। होटल रेष्टुरेन्टहरु बन्द भएका छन्। कतिपय कामदारहरुको भिसा नवीकरण नभइरहेको अवस्था छ। केही समय कामदारलाई बिदा दिएको अवस्था छ। विभिन्न किसिमका समस्याहरु देखिएका छन्। यदी कोही माल्टा आउने प्रक्रियामा हुनुहुन्छ भने म तपाईकै माध्यमबाट नआउन सुझाव दिन्छु।

प्रतिक्रिया

सम्बन्धित खवर