इडवार्ड निनो हर्नान्डेजले विश्वको सबैभन्दा होचो व्यक्तिको कीर्तिमान पुनः प्राप्त गरेका छन् । यसअघि सन् २०१० मै विश्वको सबैभन्दा होचो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका कोलम्बियाका यी पुरुषको कीर्तिमान नेपालका दुईजना व्यक्तिले भंग गरिदिएका थिए ।
गत आइतबार ३४ वर्ष पुगेका हर्नाण्डेजको उचाइ २ फुट ४.३९ इन्च रहेको छ । सन् २०१० मा गिनिज बुकमा नाम लेखाएका हर्नाण्डेजको ताज लगत्तै पछि नेपालका खगेन्द्र थापा मगरले खोसेका थिए । खगेन्द्रको उचाइ २ फिट २.४१ इन्च थियो । त्यसपछि खगेन्द्रको ताज नेपालकै चन्द्रबहादुर डाँगीले खोसिदिए । डाँगीको उचाइ जम्मा १ फुट ९.५ इन्च थियो ।
निकै हँसमुख हर्नाण्डेजले आफूले संसार जित्नका लागि आफ्नो मुस्कानको उपयोग गरिरहेको बताएका छन् । आफूले मनले चिताएको सबै कुरा पाएको भन्दै उनले आफूले हरेक व्यक्तिसँग आफ्नो मुस्कान बाँड्ने गरेको बताएका छन् । एजेन्सी