बाँके, साउन २ : गत आर्थिक वर्षमा २३ हजार ७४३ सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा ६ हजार ९५२ ट्रक, चार हजार ९८१ जीपकार, चार हजार २९ बस, तीन हजार ८७० मोटरसाइकल, दुई हजार ७६२ ट्रयाक्टर, ५४७ टेम्पो र ५४६ अन्य सवारी साधन कारवाहीमा परेका छन्।
उक्त कारबाहीमा एक करोड २९ लाख ६९ हजार राजश्व सङ्कलन भएको छ। जसमा ट्रक कारवाहीबाट ३७ लाख ७४ हजार ५००, जीप कारबाट रु २५ लाख ४० हजार ५००, मोटरसाइकलबाट रु २२ लाख ८५ हजार ५००, बसबाट रु २० लाख ७४ हजार ५००, ट्रयाक्टरबाट रु १५ लाख १४ हजार ५००, टेम्पोबाट दुई लाख ९९ हजार र अन्य सवारी साधनको कारवाहीबाट रु दुई लाख ८८ हजार ५०० राजश्व सङ्कलन भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार बाँकेमा गत आवमा १९१ वटा सवारी दुर्घटना भएका छन्। सो दुर्घटनामा २५४ सवारी संलग्न रहेका छन् । सो अवधिमा ७३ जनाको मृत्यु भएको छ । जसमा छ बालक, तीन बालिका, १२ महिला र ५२ जना पुरुष रहेका ट्राफिक प्रहरीको तथ्याङ्क छ।
प्रहरी निरीक्षक बमका अनुसार मादक पदार्थ सेवनबाट सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् । त्यस्तै यात्रुको गल्ती, तीव्र गति र ओभरलोड, यान्त्रिक गडबडी, सडकको अवस्था र पशुचौपायाका कारण सवारी दुर्घटना भएका छन् । कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० वर्ष उमेर समूहका बिनालाइसेन्स तीव्र गतीमा सवारी चलाउनेको सङ्ख्या धेरै छ ।