बेद प्रकाश गुप्ता
असोज ९, बर्दिया । शनिबार देखि बर्दियाको बारबर्दिया नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना भाईरसको संक्रमण समुदायस्तरमा क्रमिक रुपमा बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारीद्धारा बारबर्दिया नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी हुन लागेको हो ।
कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि स्थानीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बारबर्दियाको अनुरोधमा असोज १० गते विहान ५ बजे देखि लागु हुने गरि ५ दिन सम्मका लागि असोज १४ गते सम्म निषेधाज्ञा जारी गरिएको छ ।
जारी निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा र सवारी साधन बाहेक हिड्डुल गर्न समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारीले जारी गरेको सुचनामा उल्लेख छ ।
सवारी अनुमति (पास) लिएका सवारी साधन, एम्बलेन्स, निर्माण सामाग्री ढुवान सवारी साधन भने सञ्चालन गर्न पाईनेछ । यस्तै, स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, औषधी पसल, डेरी, र ए.टी.एम. जस्ता आवश्यक सेवाहरु भने सञ्चालनमा रहनेछन् ।