सार्वजनिक यातायात सेवाको नियमन गर्न ओटीएमएस लागू
बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित

काठमाडौँ (फरकसमाचार)— मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ ।

यातायात सुविधामा नागरिकहरुको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायत क्षेत्र सुरक्षित, व्यवस्थित र अपांगता भएका व्यक्ति अनुकुल बनाउने नीति अनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागू गरिएको हो ।

सरकारले कोरोनाको जोखिम न्यूनिकरण र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भिड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन अनलाइन टिकट खरिद बिक्री निर्देशिका लागू गरिसकेको छ ।

अनलाइन टिकेटिङ सिस्टमको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सावजनिक यातायातलाई सर्वसुलभ, पारदर्शी सुरक्षित बनाउन नीतिगत व्यवस्था गर्ने सन्दर्भमा मन्त्रालय कानून निर्माणमा लागिरहेको बताए । उनले एकीकृत प्रकृया र पारदर्शी प्रविधिमैत्री बनाएर काम गर्न सार्वजनिक यातायात प्राधिकरणको कल्पना गरिएको समेत बताए ।

ओटीएमएसको माध्यमबाट यातायात सेवा प्रदायकहरुले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तरगतका निकायहरुलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ । ओटीएमएसले लगानिकर्ताहरुको सञ्चालन खर्च घटाई मुनाफा वृद्धि गराउनुका साथै टिकट खरिद बिक्री प्रक्रियामा विचौलियाहरुलाई पूर्ण रुपमा निषेध गर्नेछ ।साभार कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर