पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले अहिलेको अवस्थालाई सोचेर बेलैमा पूर्व तयारी गर्न नसक्दा समस्या बढ्दै गएको बताउँछन् । प्रदेश सरकारले पोखरामा सञ्चालनमा ल्याएको भनिएको सरुवा रोग तथा संक्रामक अस्पतालमै आईसीयू छैन । आईसीयू र भेन्टिलेटर भए पनि जनशक्तिको अभावमा थन्किएको छ ।
मणिपाल, चरक मेमोरियल, गण्डकी मेडिकल कलेज लगायत शिक्षण अस्पतालको आईसीयू बेड र भेन्टिलेटरको डाटा लिएर बसेको सरकारलाई बिरामी भर्ना नलिएर मर्नुपरेको पत्तो नै हुँदैन । निजी अस्पतालले गम्भीर खालका बिरामी भर्ना नै नलिएर फर्काइदिन्छन् । यी शिक्षण अस्पतालले बिरामीको अवस्था र व्यक्ति हेरेर ५० देखि डेढ लाख रुपैयाँ धरौटी लिएर मात्र बिरामी भर्ना गर्छन् । महँगो शुल्क र धरौटी तिर्न नसकेरै जनताले ज्यान गुमाउने परिस्थिति छ ।
प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मादेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसम्म यो कुरा मान्न तयार छैनन् । प्रदेशले कोरोना नियन्त्रणमा अब्बल काम गरेको उनीहरुको दाबी छ । स्वास्थ्यको विभागीय सामाजिक विकास मन्त्री नरदेवी पुन कोरोना व्यवस्थापनका लागि छलफलमात्र गरिरहेको बताउँछिन् ।
बजारमा चहलपहल, हेलचेक्राइँका कारण दसैं–तिहारलगत्तै संक्रमणको दर र गम्भीर बिरामी बढेकाले नागरिक पनि बढी सचेत हुनुपर्ने जनरल फिजिसियन डा. शरद बराल बताउँछन् ।
६ वटा निजी अस्पताल पु¥याउँदा पनि बिरामी भर्ना गर्न नसकेर छिमेकी बचाउन नसकेका महेन्द्रप्रसाद तिमिल्सिना भन्छन्, ‘केही भइहाले उपचार पाइन्नँ, भगवान भरोसा हो । यस्तो भयानक अवस्थामा आफैं सचेत हुनु र साबधानी अपनाउनुको विकल्प छैन ।’साभार अनलाईन खबर