मंसिर २३ गुल्मी : मालिका गाउँपालिकाले अस्पताल निर्माणका लागि स्थानीयबाट लिइएको निःशुल्क जग्गामा नभई अर्कै स्थानमा अस्पताल भवन निर्माण सुरु गरेको छ।
गाउँपालिकाले अस्पताल बनाउनको लागि वडा नम्बर ५ छापहिलेका स्थानीय धनु गिरी, ईश्वर गिरी र देवीराम अर्याललको १२ रोपनी जग्गा निःशुल्क लिएको थियो। तर, मंसिर १७ मा पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले वडा नम्बर ४ को ठूलीचौरमा अस्पताल भवनको शिलान्यास गरे।
स्थानीयबाट लिइएको जग्गामा अस्पताल नबन्ने भएपछि जग्गादाताहरुले गाउँपालिकाले सोझा साझा जनताको आँखामा छारो हालिदिएको बताएका छन्। ‘जग्गा दान गर्दा धर्म हुने र पाप गरेको भए पनि सबै मेटिने आशासहित घर मात्रै राखेर सम्पत्ति सबै अस्पतालको नाममा पास गरिदिएका हौं,’ जग्गाधनी तथा धनु गिरीकी आमा मुमा गिरीले भनिन्, ‘यस ठाउँमा अस्पताल नबन्ने र हाम्रो जग्गा अस्पतालको नाममा भएपछि हामीमाथि अन्याय भएको छ।’
गाउँपालिकाको अर्को आश्वासन
गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरीले जग्गादाताहरु मारमा परेको स्वीकार गरेका छन्। तर, उनले गाउँपालिकाको केन्द्र नजिकै अस्पताल बनाउँदा उत्तम हुने भन्दै ठूलीचौरमा अस्पतालको शिलान्यास गरिएको बताए।
गाउँपालिकाले वडा नम्बर ५ का स्थानीयहरुसँग १२ रोपनी जग्गा मालिका अस्पतालमा नाममा लिएको र त्यस क्षेत्रमा गाउँपालिकाले औधोगिक ग्राम बनाउने योजनामा रहेको वडाध्यक्ष गिरीको भनाइ छ।
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले संघीय सरकारले तोकेकै स्थानमा अस्पताल भनव शिलान्यास गरिएको दाबी गरे। थाहाखबरबाट साभार