बर्दिया,पुस ७ (फरकसमाचार) छिन–छिनमा बिजुली काटिने भएकोले बर्दियाबासी मर्कामा परेका छन् । जिल्लामा चारवटा सब स्टेशन संचालनमा भएपनि बिद्युत अनियमियत हुन लापारबाहीको परकाष्ठा हो ।
‘कति–कति बेला ५ मिनेटको अन्तरालमा १० पटक बिजुली आउने जाने गर्छ, बिजुलीको यो लुकामारीले एकदमै दुख दिएको छ,’ गुलरिया नगरपालिका वडा नं. ५ मा बस्ने राजन केसी गुनासो गर्दै भने ‘दिनमा सयौंपटक आउने जाने गर्छ, विद्युतसँग जोडिएर काम गर्नेहरूलाई बिजुलीको यो लुकामारीले गर्दा काम गर्न एकदमै अप्ठ्यारो हुन्छ ।’
यस्ता समस्याबाट उद्योगी, व्यवसायी र विद्यार्थीहरु ठुलो मर्कामा परेको स्थानीयबासीको गुनासो छ । हाई र लो भोल्टेजका कारण अधिकांशको घरमा जडान गरिएका ईलेक्ट्रोनिक सामान बिग्रिएका छन् ।
बर्दियामा यस्तो समस्या हालसालै मात्र देखिएको होइन । वर्ष दिनदेखी नै उपभोक्ताहरु पीडित छन् । विगत केही महिना झन बिद्युत अनियमित हुने गरेको हो । जिल्लाको विद्युत सेवा अवरुद्ध भईरहने गरेकोले सदरमुकाम आसपासका व्यवसायी, कर्मचारी र विद्यार्थीहरुलाई सास्ती खेप्नु परेका छ ।
पटक पटक बिजुली आउने जाने गर्दा मोबाईल मर्मत गर्न समस्या झेल्नुपरेको गुलरिया बजार स्थित मोबाईल पसल गरेका प्रकाश थापाले दुख व्यक्त गरे । ‘आफुले गर्ने व्यवसायको काम विद्युतसँग जोडिएको छ, मोबाइल मर्मत गर्नका लागि विद्युतकै आवश्यकता हुन्छ तर दिनकै पटक पटक बिजुली आउने जाने गर्दा व्यवसाय सञ्चालन गर्न असहज भएको छ’ उनले भने, ‘मौसमको अवस्था नराम्रो भएको खण्डमा सुरक्षाका लागि एकदुई पटक बिजुली जाँदा केही फरक पर्दैन तर अन्य समयमा छिनछिनमा बिजुली जाँदा असहय भएको छ ।’
केन्द्रिय प्रसारणबाटै बिद्युत आपुर्ती अनियमित हुने गरेकोे नेपाल विद्युत प्राधिकरणले भन्ने गरेको छ । विद्युत सेवा अवरुद्ध हुने बित्तिकै नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गरिरहेको छ । जसका कारण स्थानीय झनै पीडित हुने गरेका छन । विद्युत जानेबित्तिकै गाउँगाउँका टावरले काम नगरेपछि सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन नसुनिने, स्पष्ट आवाज नआउने गरेको छ ।
त्यसबाहेक अन्य दिनमा भने झ्याप्प झ्याप्प बत्ती गइदिँदा लाखौं रुपैयाँका सामानसमेत बिग्रिने जोखिम उत्तिकै हुने गरेको स्थानीय बताउँछन् । प्रमुख चौधरीसँग मोबाईलमा प्रतिक्रिया लिन खोज्दा मोबाईल उठेन ।