दमौली, फागुन ९ : सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारको भ्रमण वर्ष २०१९–२०२२ लाई सहयोग पु¥याउन तनहुँको आँबुखैरेनी गाउँपालिकाले घरवास प्रवद्र्धनसहित पदयात्रा गर्ने भएको छ । नेपाल सुन्दर, शान्त र सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश अन्तर्राष्ट्रिय जगत्सम्म पु¥याउन र छिम्केश्वरीमा सञ्चालित घरवास (होमस्टे) को प्रवद्र्धनका लागि पदयात्रा गर्न लागिएको हो ।
यही फागुन २५ देखि २७ गतेसम्म तनहुँकै अग्लो स्थानमा रहेको छिम्केश्वरीमा आयोजित महोत्सवका अवसरमा पदयात्रा गरिने गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापाले जानकारी दिए । ‘यहाँ सञ्चालित घरवासको प्रवद्र्धन गर्नु पदयात्राको मुख्य उद्देश्य हो’, थापाले भने, ‘भ्रमण वर्षमा यस ठाउँमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेका छाँै ।’
मुग्लिङको पुलजीपबाट शुरु हुने पदयात्रा लाब्दी–छिम्केश्वरी–हिलेखर्क हुँदै बन्दीपुर पुगेर टुङ्गिनेछ । पदयात्रामा छिम्केश्वरी दर्शन, गुरुङ, मगर, नेवार, भुजेल, चेपाङ जातिका संस्कृति, प्राकृतिक एवं जैविक विविधता, स्थानीय जैविक खानाका परिकार, दन्तेलहर हिमशृङ्खला आकर्षणका रुपमा रहनेछ ।
पुलजीपबाट शुरु हुने पदयात्राको पहिलो दिनको गन्तव्य लाब्दीसम्म हुनेछ । पुलजीपबाट पाँच घण्टाको पैदलयात्रापछि लाब्दी पुगिन्छ । लाब्दीमा सांस्कृतिक कार्यक्रम र चेपाङ गाउँ अवलोकनपश्चात छिम्केश्वरी सामुदायिक घरवासमा बास बस्ने व्यवस्था मिलाइएको छ । दोस्रो दिन लाब्दी–छिम्केश्वरी हुँदै हिलेखर्क पुगिनेछ । चार घण्टाको पैदलयात्रापछि पुनः उक्त ठाउँमा सांस्कृतिक कार्यक्रम गरिनेछ । तेस्रो दिन हिलेखर्क हुँदै बन्दीपुर पुगिने र पदयात्रा सकिने बताइएको छ ।
वडा नं ५ स्थित छिम्केश्वरीको दक्षिण काखमा लाब्दी र भोटेश्वाँरा गाउँ छ । यी दुई गाउँको सहकार्यमा छिम्केश्वरी सामुदायिक घरवास सञ्चालन गरिएको छ । यस ठाउँबाट मनास्लु, लाङटाङ हिमशृङ्खला, सुर्योदय र सुर्यास्तका साथै छिम्केश्वरी र बुढीदेवीमाईको दर्शन गर्न सकिने घरवास व्यवस्थापन समितिका अध्यक्ष देवीलाल गुरुङले जानकारी दिए ।
यस ठाउँमा ४५ घरमा घरवास सञ्चालन गरिएको छ । समुद्र सतहबाट एक हजार ५५० मिटर उचाइमा रहेको यस ठाउँमा आउने पाहुनालाई मकै, फापर, दलहन, तरकारी, स्थानीय घ्यु, गुन्द्रुकभट्ट, मौसमअनुसारको रायोसाग खुवाउने प्रचलन छ । त्यस्तै वडा नं ६ स्थित छिम्केश्वरीको काखमा हिलेखर्क घरवास सञ्चालन गरिएको छ । यहाँका ५६ घरधुरीमा घरवास सञ्चालन गरिएको हिलेखर्क घरवास व्यवस्थापन समितिका सचिव चन्द्रप्रकाश गुरुङले जानकारी दिए । यहाँबाट धवलागिरि, अन्नपुर्ण, मनास्लु, लाङटाङ हिमाल देख्न सकिन्छ । उनका अनुसार यहाँ आउने पाहुनालाई मौलिक गुरुङ संस्कृति, स्थानीय जैविक खानाका परिकारले स्वागत गर्ने प्रचलन रहिआएको छ ।
पदयात्राका लागि प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गरिएको छ । उक्त प्याकेजअन्तर्गत दिउँसोको खाजा, बेलुकीको खाना र बिहानको नास्ता खाना उपलब्ध हुनेछ । प्याकेजका अतिरिक्त खाना र यातायातका साधन प्रयोग गरेमा प्रयोगकर्ता स्वयंले भुक्तान गर्नुपर्नेछ ।