यज्ञप्रसाद सापकोटा
बर्दिया,पौष १४/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छिटो रिजल्ट आउने गरि भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति दिन आग्रह गरेका छन् । आयोजनाको कामलाई गति दिनका लागि आयोजना कार्यान्वयन सम्बद्ध पक्ष संग मुख्यमन्त्री आचार्यले शुक्रबार छलफल गरेका हुन् ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको बताएका छन् । आयोजनालाई छिटो सम्पन्न गर्नका लागि ध्यानाकर्षण गराउँदै काम अति सुस्ताएकोमा चिन्ता व्यक्त गरे । मुख्यमन्त्री आचार्यले भने–‘छिटो काम अघि बढ्छ कि भन्ने थियो तर, काममा बिलम्ब भयो । रिजल्ट आउने गरी काम सम्पन्न गर्नुहोस् ।’
लुम्बिनी प्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने आशा गरिएको मुख्यमन्त्रीले बताए । आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षीत हुनेगरी गर्नुपर्ने बताउँदै नदि कटान र विपद् जोखिम न्यूनिकरण गरेर काम गर्न अनुरोध गरे । ‘स्थानीयहरूसंग भएका सम्झौता कार्यान्वयन भएको छैन ।
त्यसलाई ध्यान दिनुस् ।’ मुख्यमन्त्री आचार्यले भने –‘सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ, बस्तिलाई सुरक्षीत गर्न जरुरी छ । अनिवार्य नदिको दुबै किनारमा तटबन्ध गर्नेगरी योजना अघि बढाउनुस् ।’ आयोजना कार्यालयसँग छलफल गर्नु अघि मुख्यमन्त्री आचार्यले बाँसगढी नगरपालिका–१ चेपाङ बर्दियाका स्थानीयसँग भेट गरेका थिए ।
अवको २ बर्ष भित्र भेरी नदिको पानी बबई नदिमा झारेर सिंचाइ, विद्युत उत्पादन सुरु हुनेगरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको, जस अन्तरगत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको निर्देशक बमले जानकारी दिए । हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । आर्थिक बर्ष २०६८÷६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो ।
सिँचाइ विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते ‘ब्रेक थ्रु’ गरिएको थियो ।