राम प्रसाद चौहान
बर्दिया,माघ २२ (फरकसमाचार)/ उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र (मंगल) पाण्डेको परिवारले विद्यालय परिसरमा सरस्वति मन्दिरको शिलान्यास गरेका छन् । बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित विद्या ज्योति नमुना माध्यमिक विद्यालयको परिसरमा पाण्डे परिवारले सोमबार सरस्वति मन्दिरको शिलान्यास गरेका हुन् ।
स्वर्गिय पिता केशव पाण्डेको सम्झनामा विद्यालय परिसरमा सरस्वति माताको मुर्तिसहित मन्दिर निर्माण गर्न लागिएको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र (मंगल) पाण्डेले बताए । ‘मेरो बुवा विगतमा यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर लामो समयसम्म योगदान गर्नुभयो,’अध्यक्ष पाण्डेले भने,‘उहाँको स्मृतिमा हाम्रो परिवारले यस विद्यालयमा मन्दिर निर्माण गर्ने निर्णय गर्यो ।’
वसन्त पञ्चमीको दिन सोमबार हाम्रो परिवारले विद्यालय परिसरमा मन्दिरको शिलान्यास गरेको छ । यस लगत्तै मन्दिर निर्माणको काम सुरु हुनेछ । मन्दिर निर्माणको लागि अन्दाजी रु १५ लाख खर्च लाग्ने जनाईएको छ । विद्यालय परिसरमा मुर्तिसहितको सरस्वति मन्दिर निर्माणको सम्पुर्ण खर्च हाम्रो परिवारले व्यहोर्नेछ । चिटिक्कको मन्दिर निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष पाण्डेले सुनाए ।
माता यम कुमारी पाण्डे, दाजु सोम पाण्डे, भाउजु गायत्री पाण्डे, म र मेरो श्रीमति जुना पाण्डेलगायतले संयुक्त रुपमा मन्दिरको शिलान्यास गरेको अध्यक्ष पाण्डेले जानकारी दिए । यो विद्यालयमा यस अघि सरस्वति मन्दिर थिएन । मन्दिर निर्माण हुने भएपछि विद्यालय परिवार खुसी भएको छ ।