बर्दिया,साउन १२(फरकसमाचार) / एक वर्षमा २ करोड बढीको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । आर्थिक वर्ष ०८१/०८२ मा जिल्ला स्थित रहेको विभिन्न नाकाहरुबाट रु २ करोड १२ लाखको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।
आर्थिक वर्ष ०८१/०८२ मा जिल्लाको विभिन्न नाकाबाट मुल्य रु २ करोड १२ लाख ६ हजार ६ बराबरको पशुचौपाया, लत्ताकपडा तथा किराना सामाग्री बरामद गरि कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले बताए ।
‘बेचबिखन गर्ने उदेश्यले भारततर्फ लैजाँदै गरेको अवस्थामा ७ जना महिलालाई उद्दार गरि ५ जना पुरुषलाई नियन्त्रण लिएको छौं,’सशस्त्र प्रहरी उपरीक्षक शाहीले भने,‘त्यसैगरि ५१ ग्राम २ सय ६५ मिलिग्राम लागू औषध ब्राउन सुगरसहित ५० जना, २८ केजी ९ सय ३० ग्राम चरेशसहित ४ र १ ग्राम ५ सय मिलिग्राम गाँजा सहित एक जनालाई नियन्त्रणमा लिई कारवाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएका छौं ।’ सिमित स्रोत साधनको उपस्थितीमा जिल्लाको करिब ८३ किलोमिटर खुल्ला सिमानामा कडाईका साथ निगरानी गरिरहेको प्रहरी उपरीक्षक शाहीले जनाए ।
यसैगरि आर्थिक वर्ष ०८०/०८१ मा मुल्य रु १ करोड ५२ लाख ८ हजार ५ सय ६३ बराबरको अबैध सामाग्री सशस्त्र प्रहरीले बरामद गरेको थियो ।