बर्दिया,साउन २२(फरकसमाचार) / भारतको उत्तराखण्ड राज्यमा आएको बाढीले मधुवन नगरपालिकाका चार जनालाई बेपत्ता बनाएको छ । बुधबार बिहान अचानक आएको बाढीले मधुवन नगरपालिकाका चार जनालाई बेपत्ता बनाएको हो । बेपत्ताहरुको अवस्था अज्ञात रहेको आफन्तहरुले बताएका छन् । उनीहरु भारतको उत्तराखण्ड राज्य पौडी जिल्ला बाँकुडा गाउँमा ज्याला मजदुरी गर्न गएको खुलेको छ ।
मधुवन नगरपालिका–६ गाउँ नंम्बर ४ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमति सरस्वती भण्डारी खड्का र उनका २ वर्षीय छोरा रोमन खड्का र वडा नम्बर ५ गाउँ नंम्बर ८ का रामु परियारको श्रीमति अमृता परियार बेपत्ता भएकी छन् ।
भारतको उत्तराखण्ड बाँकुडा गाउँ स्थित बुधबार बिहान आएको बाढीले मधुवन नगरपालिका–६ का एकै घरका तीन जना र वडा नंम्बर ५ का एक जना बेपत्ता भएको खबरले स्तब्ध बनाएको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए ।
‘बेपत्ताहरुको खोजीको लागि प्रशासनसंग समन्वय गरिरहेको छु,’नगर प्रमुख भाटले भने,‘बेपत्ताका तीन जना आफन्तहरु बिहीबार खोजतलासको लागि त्यसतर्फ निस्केका छन् ।’ ‘मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकाका ७६ जना व्यक्तिहरु ज्याला मजदुरीको लागि त्यस स्थानमा गएको बुझिएको,’नगर प्रमुख भाटले भने ।
‘मधुवन नगरपालिकाका ४ जना भारतको उत्तराखण्ड स्थित बाढीमा परेर बेपत्ता भएको जानकारी आएको छ,’सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले भने, ‘बेपत्ताको खोजी र उद्दारको लागि मन्त्रालयमार्फत र सिधै दिल्ली स्थित एमबेसीमा सम्पर्क गरिरहेको छौं।’