प्रश्नहरु ?
शुक्रबार, माघ २४, २०८२ मा प्रकाशित

माघ १८ गते व्याडमिन्टन खेलेर आएपछि म बिहानै कपाल कटाउन भाई जितेन्द्रको पसलमा गएको थिए । त्यस बिहान अत्यन्त चिसो र हल्का हुस्सु पनि लागेको थियो । एक जना भाई यताउता गरेको देखिरहेको थिए । भेट भएका व्यक्तिहरुसंग केही सोधे जस्तो अनि निरास भए जस्तो । मलाई देख्ने वितिकै उनी म तिर हान्निए र एक्कासी प्रश्न गरे अंकल एउटा ईन्टरभ्यु लिन सक्छु ? एका बिहानै उनको जोश जाँगर देखेर म प्रभावित भए र विना विलम्व स्वकृृति दिएँ । अभिनव पाठकको पत्रकारीता प्रतिको मोह र जागरुकता देखेर हर्षित भयो मन मेरो । उनको पत्रकारीता गर्ने उत्साह देखेर उनको प्रश्नले उव्जाएका मेरा मन भित्रका भावहरुलाई अक्षरहरुमा अभिव्यक्त गर्न मन लाग्यो । त्यसैको परीणाम हो यो अक्षरपुँजहरु ।

क्षेत्र नम्वर १ को चुनावी माहोललाई तँपाईले कसरी महशुस गरीरहनु भएको छ भन्ने प्रश्नबाट कुराको उठान भयो । मैले प्रश्नको लागि धन्यवाद दिदै भने, पत्रकार महोदय, आज बर्दियाको क्षेत्र नं.१ को चुनावको मात्र कुरा होईन राष्ट्रव्यापी रुपमा भईरहेको निर्वाचनको के महत्व छ र यसलाई कसरी लिनु पर्छ भन्ने कुराबाट मैले शुरु गरे । २०८४ सालमा हुनु पर्ने निर्वाचन अप्रत्याशित घटित घटनाको परिणाम २०८२ मा हुन गईरहेको छ । भाद्र २३ र २४ गते स्कूल–कलेज पढने र जेन–जेड उमेरका युवाहरु बाट देशमा भष्ट्राचाररहित सुशासन र सामाजिक सन्जालको निरन्तरताको विषयलाई लिएर आन्दोलनको थालनी भएको थियो ।

२३ गतेको आन्दोलनमा घुसपैठ भयो भन्दै जेन–जेडका अगुवाले नै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर सबैलाई घर फर्कन आह्वान गरीसकेको थियो । तथापी, घुसपैठीहरुले कलिला र जोशिला यूवाहरुलाई हौसाउदै निषेधित क्षेत्र तर्फ बढन प्रेरित गरेको थियो भन्ने यथार्थ आन्दोलनमा उपस्थित गराईएका भाईबहिनीहरुको मुखारविन्दबाट सुनीरहेका छौ । जसको परिणाम कलिला भाईवैनीहरुलाई निशाना बनाउदै ज्यान लिने काम भयो भन्ने कुरा विभिन्न संचार माध्यमबाट पनि हामीले थाहा पाईसकेका छौ । त्यस दिन बोर्डिङ्ग स्कूलको अनुमति विना विद्यार्थीहरुलाई कसरी आन्दोलनमा उतारियो भन्ने प्रश्न उठीरहँदा सरोकारवाला र राज्यले यसको जवाफ दिईरहेको छैन ।

जवाफ कसैले खोजेको पनि छैन र हामीले जान्न पनि पाँएका छैनौ र जनताले सूचना पाउनु पर्ने अधिकारको राज्यपक्षबाट घोर उल्लघंन गरिरहेको छ । चलाईएका गोलिहरु प्रहरीसंग छैन भन्ने रिर्पोटका समाचारहरु पनि पढन पाएका छौ । पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म एकै दिन, एकै समयमा सुनियोजितढङ्गबाट नेपाललाई आर्थिक तथा राजनैतिकरुपमा समाप्त पार्ने भू–राजनैतिक खेल हो भन्ने पनि व्यापक सुन्नमा आएको छ । भेनुजुयलाको शासन कस्तो थियो ? त्याहाँका शासक कस्ता थिए भन्दा पनि भेनुजुयला एउटा स्वतन्त्र सार्वभौभ सम्पन्न राष्ट्र थियो । आज त्यस देशमा जुनप्रकारको खेलखण्ड भैरहेको छ, हाम्रो जस्तो सानो देशमा नहोला भन्न सकिदैन ।सुशासनको महशुस गराउन नसक्नु, भ्रष्ट्राचार नियन्त्र नगर्नु, ६–६ महिनामा सरकार गिराउनु–बनाउनुले जनतामा ठूलो निरासा छाएको थियो । परिणाम, आज देश भू–राजनीतिको चपेटामा परेको छ ।

ठूला–ठूला राष्ट्रहरुले हाम्रो गतिविधिलाई बढो चलाखीपूर्ण तरीकाले नियालिरहेका छन् । कसैले आफ्नो वर्चस्व नेपालमाथि कायम गर्न पर्खिबसेका छन् । यस जटिल परिस्थितिमा हुन गईरहेको निर्वाचन बर्दिया क्षेत्र नं.१ मा मात्र होईन, देशैभरी महत्वका साथ हामी सबैले जान्नु र बुझ्नु पर्छ । सैद्धान्तिकरुपले परिपक्व, खारिएका, दृष्टिकोणमा स्पष्ट भएका पार्टीनै आजको रोजाई हुनुपर्छ । सामाजिक सन्जालबाट उदाएका व्यक्ति वा पार्टी जो संग न त सिद्धान्त छ ? न त देशलाई कता लैजाने दृष्टिकोण छ ? अमुर्तताबाट सदा दिशाविहिन कार्य मात्र हुन सक्छ भन्ने हेक्का हामी सबैले राख्नै पर्छ ।

सारमा संवैधानिक जस्तो देखिएता पनि विविध कारणले अप्रत्याशित रुपमा आएको असंवैधानिक सरकारले गराउन लागेको यो निर्वाचनलाई निर्वाचनको रुपमा मात्र बुझ्नु हुँदैन ? यो त नेपालीहरुको स्वाधिनताको पनि लडाई हो । नेपाललाई स्वतन्त्र सार्वभौम राज्यको रुपमा राख्ने की नराख्ने भन्ने एउटा अघोषित युद्धपनि हो । देशलाई जलाउने विध्वसंकारी र राष्ट्र पक्षधर विचको लडाई हो । यो लडाई साम्राज्यवादी र विस्तारवादीको विरुद्धको लडाई हो भन्ने यथार्थ पनि विर्सिनु हुँदैन । देशको राष्ट्रियता, भूअखण्डता, सार्वभौमिकता जोगाउन हामी सबै बडो चनाखो भएर विवेकपूर्ण तरिकाले राष्ट्रियताको पक्षमा अडान लिने पार्टीहरुलाई रोज्नु आजको अपरिहार्यता हो । यस अर्थमा यो निर्वाचनलाई सम्पन्न गर्ने हामी सबैको दायित्व हो । यदि समयमै हामीले विवेक पु¥याएनौ भने हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुको कुनै अर्थ रहने छैन  ।

दोस्रो प्रश्न थियो, तँपाईको नजरमा राम्रो नेता कस्तो हुनु पर्छ ?

अध्ययनबाट प्राप्त ज्ञान अनुसार पौराणिक र व्यवहारीक तथ्यका आधारमा नेताहरुमायि गुणहरुले सम्पन्न हुनु पर्छ ।

-त्यागको भावना : नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको हितको वारेमा चिन्तन गर्नु पर्छ । असल नेताहरुले जनताको सुखलाई नै आफ्नो सुख मान्नु पर्छ । महिन्द्र मल्लले जब सम्म जनताको घरमा चुलो बल्दैन थियो तवसम्म उनले खाना खाँदैन थिए भन्ने कुराहरु ईतिहासमा पढन पाईन्छ ।

न्याय र विवेक: नेताहरु नातावाद, कृपावाद जस्तो दरिद्री मानसिकताबाट बँच्नु पर्छ । आफ्ना वरीपरीका मान्छेले गरेका कमिकमजोरीलाई ढाकछोप गर्ने र दोषिलाई बँचाउने कार्य कहिल्यै गर्नु हुँदैन । असल नेता सदैव न्याय र सत्यको पक्षमाउभिने साहास गर्न सक्नु पर्छ ।

सहनशीलता र धैर्य: हामीले रामायण र महाभारत जस्ता पौराणीक कथाहरु अध्ययन गरेका छौ । रामले र कृष्णले कठिन परिस्थितिमा पनि धैर्य र सहनशिलतालाई कायम राख्दै सधै न्याय र सामाजिक मान्यतालाई कायम राख्न सफल भएको पाएका छौ । त्यसैगरी नेता जस्तो सुकै कठिन अवस्थामा पनि धैर्यधारण गरी सहनशिलताको उदाहरण देखाउन सक्नु पर्छ । गुणवान नेता कुनै पनि संकटको समयमा शान्त रहेर निर्णय लिन सक्ने क्षमतावानहुनु पर्दछ ।

निर्णय क्षमता: सिद्धान्तविहिन, दृष्टिकोणविहिन भएका नेताहरुले संगठन वा देशलाई सहि नेतृत्व दिन सक्दैनन् । जटील परिस्थितिमा सहि निर्णय लिन सक्नु नै असल नेताको पहिचान हो ।

दूरदर्शिता: वर्तमानको समस्यालाई लिएर मात्र दृष्ट्रिकोण वा योजना बनाउनु मात्र काफि हुँदैन । भविष्यको सम्भावनाहरु बुझेर दिगो योजना बनाउन सक्ने व्यक्ति असल नेताबन्न सक्छन । यसर्थ, असल नेतामा भविष्य बुझ्न सक्ने र भविष्यको योजना बनाउन सक्ने नेतामा गुण हुनुपर्छ ।

संवाद र वाकपटुता : नेतामा वाकपटुता र संवाद गर्न सक्ने खुवि हुनुपर्छ । जनताको भावना बुझ्न सक्ने र आफ्ना कुराहरु जनता माझ स्पष्ट राख्न सक्ने क्षमता नेतामा हुनुपर्छ । वाकपटुता नभएका नेताहरुले न त जनताको भावना बुझ्न सक्छ न त संवाद नै गर्न सक्छ । क्षमताहिन नेताहरुले कहिल्यै पनि परीणाम दिन सक्दैनन् । असल नेता नैतिकवान, निष्कलंक, जात, धर्म वा वर्ग भन्दामाथि उठेर सबैलाई समेटन सक्ने र उत्तरदायित्व वहन गर्न सक्ने गुणले परिपूर्ण हुनु पर्छ ।

तेस्रो प्रश्न बर्दियाका नेताहरुलाई जनताको तर्फबाट के सन्देश दिन चाहनु हुन्छ ?

बर्दियाका नेताहरुले मात्रहोइन देशैभरीका नेताहरुले के बुझ्न जरुरी छ भने, समय परिवर्तन भएको छ । अहिलेको युग सामाजिक सन्जालको यूग हो । यसले सबै राष्ट्रलाई (Globolization) एउटै छातामुनि ल्याएर राखिदिएको छ । भर्खरै भएको घटनालाई हवाको वेगमा यत्रतत्रसर्वत्र पु¥याउन सक्छ । अब जनतालाई मुर्ख बनाई राख्न सकिदैन । जनता सचेत छन, जानकार छन । जनतालाई कुरामा भुलाएर राख्न सकिदैन । अवजनता भाषण होईन परिणाम मुखी कार्यको अपेक्षा गर्दछन् । समय परिवर्तनशिल छ । जनताले एउटै प्रवृति वा व्यक्तिलाई पटक–पटक दोह¥याउन चाँहदैनन् । जनतामा चेतना आएको छ । नेताहरुको अपमानपूर्ण व्यवहारबाट आजीत भएका छन् ।

चाकरी होइन अव सम्मान पूर्वक गरिने व्यवहारको अपेक्षा गर्दछन् जनताहरु । झूठो सपना र आश्वासनमा रमाउन चाँहदैनन् जनताहरु । अब जनता व्युँझीसके । अमूर्त होइन मूर्ततामा विश्वास गर्छन जनताहरु । बर्दियाली जनताको नाताले सबै नेतागणहरुलाई भन्न चाहन्छु, समय रहदा नै सचेत भई हालौ । नत्र, सुध्रिने मौका पनि पाइने छैन । पाएको सम्मान, अपमानमा परिणत हुन समय पनि नलाग्दो रहेछ भन्ने घटित घटनाहरुले देखाईसकेको छ । अनुरोध छ समय छदा नै आफुलाई बदलिनु होस र असल नेताबन्ने प्रण गर्नुहोस । बन्नुहोस एउटा गुणवान त्यगाी नेता ।

अन्तमा, हामी अहिले सामाजिक सन्जालको मनोरन्जनात्मक राजनीतिको चक्र व्यँुहमा फस्दै गएका छौ । हामी गहिराईमा कुनै पनि कुराको सत्यता र वास्तविकता खोज्नै चाँहदैनौ । सतही रुपमा सामाजिक सन्जालका वा टिकटकमा आएका कुराहरुलाई आधार बनाएर वाह–वाह गर्दै राजनीतिलाई एउटा मेलाको अर्थमा मात्र बुँझ्ने गर्दछौ । एक–अर्कामा विश्वास गर्न छाडी सकेका छौ । अराजनीतिक चरित्र, अनुशासनहिनता, आर्थिक तथा नीतिगत भष्ट्राचार, उच्छृङ्खखलता, अनादरपूर्ण व्यवहार, चाकरी–चाप्लुसी, नातावाद, कृपावाद चरम स्तरमा पुगेको छ । जुन कारणले आज हामीले पिडा भोगिरहेका छौ । अनिश्चिताको भुँमरीमा रुमल्लि रहेका छौ ।

साम्राज्यवादी, विस्तारवादीहरुले हाम्रो देशमाथि गिद्धेदृष्ट्रि लगाई रहेका छन् । यसो हुनुमा सरकारमा लामो समयसम्म शासन सत्ता हातमा लिएका नेताहरु असलग्न परराष्ट्र नीतिमा चुक्नु पनि हो । सरकार बनाउने र गिराउने घृणित खेलमा लाग्नु पनि हो । छिमेकीको रुपमा रहेका ठूला राष्ट्रहरुसंग समदूरी र समभावको सम्वन्ध कायम गर्न नसक्नु पनि कारण हो । नेताहरुको दैनिक व्यवहारको कारण उनीहरुका छोराछोरीका जीवनशैलीले गर्दा पनि साम्राज्यवादीहरुलाई नेपालमा आफ्नो अभिष्ट लक्ष्यहरु पुरा गर्न खेलमैदान बनाउने अवसर पाएका हुन भन्दा दुई मत नहोला । विश्वपूँजिवादको जालोमा जेलिईरहँदा हाम्रो देश पनि पूँजिवादको चितामा दन्किरहेको अग्निबाट वन्चितहुन सकेन । दुर्भाग्य देशलाई केन्द्रविन्दुमा राखेर सोच्ने अवसर नै निकाल्न सकेनन् आफ्ना स्वार्थपूर्तिमा व्यस्त नेताहरुले ।

नयाँ खोलिएका पार्टीहरु र सामाजिक सन्जाल वा स्टन्टबाट उदाएका नेताहरुमा विश्वास गरिहाल्ने वातावरण बनिसकेको छैन । उनीहरुको व्यवहार शंकास्पद नै रहेको छ । जनताहरुसंग आमने सामने भएर आफ्ना भावि योजना सुनाउन सक्ने हिम्मत राख्दैनन् । जेन जेडको आन्दोलनलाई जुन रुपमा उठाए त्यसको समापन अत्यन्तै घृणित र स्वार्थपरक रह्यो । जेन जेडको सिफारिसमा उनैका काँधमा चढेर सुशासन कायम गर्र्दै आसन्न निर्वाचन सम्पन्न गराउने जिम्मेवारीका साथ सरकारमा गएका स्वघोषित नेताहरु लम्पट निस्के ।

आफ्नो राष्ट्रिय जिम्मेवारीलाई पन्छाउदै आफ्ना व्यक्तिगत स्वार्थका लागि अझ भनौ फेरी मन्त्रीहुने रहर बोकेर राष्ट्रिय जिम्मेवारीलाई लत्याउदै स्वतन्त्र छवि भनिएका व्यक्तिहरु कुनै अमुक पार्टीको सदस्य बनेर आफ्नो ईज्जत धुमिल र दागी बनाउदै निर्वाचनमा होमिन गए । के जेन जेड आन्दोलनको मुल मर्म यही थियो ? जेनजेडले बगाएको रगत सुक्न नपाउदै रगतको अपमानतिनै बाट भयो जसलाई जेनजेडले विश्वास ग¥यो । यसर्थ, “आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको”भन्ने उक्तिलाई सम्झिने हो भने नयाँ भनिनेहरु सक्षम तथा विद्धान हुन सक्छन् तर राज्यको सन्चालनको कसीमा अनुभवी नहुन सक्छन् ।

सिकारु चालकको हातमा नयाँ गाडी दियो भने निश्चित रुपमा त्यो दुर्घटनामा पर्दछ । हो पुरानाबाट धेरै कमिकमजोरी भएका छन् । तर, लोकतान्त्रिक गणतन्त्र प्राप्त भईसकेपछि देशलाई आर्थिक रुपले, विकासको दृष्टिकोणले धेरै नै सकारात्मक परिणामहरु प्राप्त गरेको  सत्यता विभिन्न देशिविदेशी पत्र–पत्रिकाबाट पनि पुँष्ट्याई भएको छ । हुन त अहिले खुलेका नयाँ पार्टीहरु नेपालको संविधानभित्रै रहेर खोलिएका हुन् । नेताहरु सबै खाँटी नेपाली नै हुन । सबैलाई स्वतन्त्रपूर्वक राजनीति गर्ने छुट र सुविधापनि छ । सबैले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता, सार्वभौमिकताको रक्षाको लागि नै राजनीति गर्ने हुन । तर, यो निर्वाचन भने जस्तै सरल रेखामा बग्न वा बगाउनको लागि गराईएको होईन भन्ने शंका गर्ने ठाँउहरु पनि प्रशस्त छन् । यसर्थ, अहिलेको निर्वाचन देशलाई खरानी बनाउने, देशको आर्थिक मेरुदण्ड भाँच्ने, राजनीति करुपमा देशलाई खत्तम पार्नेहरु र देश बँचाउने, स्वाधिनता जोगाउने वीचको निर्वाचन हो । सबै राष्ट्रप्रेमीहरुलाई आह्वान गर्न चाहन्छु । विवेक नगुमाई, अत्यन्त सुक्ष्म विश्लेषण् गरेर आफ्नो अमूल्यमतको सदुपयोग गर्नु होला । “आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको”

प्रतिक्रिया

सम्बन्धित खवर