बर्दिया,फागुन २५ (फरकसमाचार) / जिल्लाको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ । क्षेत्र नंम्बर १ बाट रास्वपाका ठाकुर सिंह थारु र क्षेत्र नंम्बर २ बाट श्रीधर पोख्रेल भारी मतान्तरले निर्वाचित भएका हुन् । थारुले ४९ हजार ६ सय ३१ र पोख्रेलले २९ हजार ६ सय ७८ मत ल्याएर विजयी भएका छन् ।
क्षेत्र नंम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन होमिएका २१ उम्मेदवार मध्ये सबै भन्दा बढी मत ल्याई ठाकुर सिंह थारु निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले आइतबार घोषणा गरेका थिए । यस्तै निर्वाचन क्षेत्र नंम्बर २ मा निर्वाचनमा होमिएका १५ जना उम्मेदवार मध्ये सबै भन्दा बढी मत ल्याएर पोख्रेल निर्वाचित भएको निर्वाचन अधिकृत कार्यालयले घोषणा गरेको थियो ।

थारुको निकटतम प्रतिद्धन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६ सय ४३ मत प्राप्त गरेका गरेका छन् । यस्तै नेपाली काँग्रेसका संजय कुमार गौतमले १२ हजार ७ सय २२ र नेपाली कम्युनिष्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २ सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नंम्बर १ मा जम्मा १ लाख ६८ हजार ३४ मतदाता मध्ये १ लाख २ हजार ४ सय ८९ मत खसेको थियो । जसमा सदर मत ९६ हजार ६ सय ९ र बदर मत ५ हजार ८ सय ८० रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोख्रेल २९ हजार ६ सय ७८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका किशोर सिंह राठोरले २० हजार ४ सय २ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका सुरेश पन्थले १९ हजार १ सय ८० र एमालेकी बिमला विकले १० हजार ७ सय ७२ मत प्राप्त गरेका छन् । क्षेत्र नंम्बर २ मा जम्मा १ लाख ५५ हजार २ सय ३२ मतदाता मध्ये ९२ हजार मत खसेको थियो । जसमा सदर मत ८३ हजार र बदर मत ४ हजार २ सय रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
थारु विगतमा पत्रकारिता र कानुन व्यवसायमा आबद्ध थिए । थारुले विस २०५६ सालदेखि एमालेबाट राजनीति सुरु गरेका थिए । विस २०७९ सालमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया–१ बाट उम्मेदवार बनेका थिए । नेपाली काँग्रेसका संजय कुमार गौतमसंग थोरै मतान्तरले थारु पराजित भएका थिए । केही महिना अघि मात्र थारु रास्वपामा प्रवेश गरी टिकट पाएर निर्वाचनमा होमिएका थिए ।
यस्तै पोख्रेल दुई दशक देखि पर्यटन व्यवसायीमा संलग्न थिए । पोख्रेल विस २०४६ सालदेखि काँग्रेसमा सक्रिय थिए । उनी विस २०७९ सालमा रास्वपामा प्रवेश गरेका थिए । हाल उनी ठाकुरबाबा नगरपालिका रास्वपाका सभापतिसमेत हुन् ।

