साहित्यको उत्थानमा जोड
शनिबार, फागुन १७, २०७६ मा प्रकाशित

बलेवा, फागुन १७ : केही वर्ष पहिलेसम्म बागलुङमा धेरै साहित्यसँग सम्बन्धित कार्यक्रम हुन्थे । चाहे कविताको वाचन होस् अथवा निबन्ध प्रतियोगिता नै किन नहोस् ।

यहाँ दर्ता भएका संस्थादेखि विद्यालयस्तरमा सञ्चालन हुने कार्यक्रमले पनि साहित्यको विधालाई प्राथमिताका साथ हेर्थे । तर पछिल्लो समय साहित्यिक कार्यक्रम विस्तारै ओझेलमा परेका छन् । विद्यार्थीको चासो साहित्यमाभन्दा खेलकूदमा बढी हुने गरेको छ । संघसंस्थाको चासो कम भएका कारण पाका पुरानाले पनि जानेको व्यक्त गर्ने ठाउँसमेत पाउँदैनन् ।

बागलुङमा दर्ता भएका संस्थाले साहित्यको उत्थानमा जोड दिनुपर्नेमा आवाज उठाउन थालेका छन् । जिल्लाकै सबैभन्दा पुरानो विद्यामन्दिर पुस्तकालयले बागलुङका साहित्यिक संस्थाबारे समीक्षात्मक गोष्ठी आयोजना नै ग¥यो । साहित्यको संरक्षण उत्थानमा लाग्ने संघसंस्था नै शिथिल भएपछि पुस्तकालयले गोष्ठीको आयोजना गर्नुपरेको पुस्तकालय व्यवस्थापन समितिका उपाध्यक्ष राम थापा ‘अविरल’ बताउँछन् ।

साहित्यलाई कविता र गजलको रूपमा मात्र बुझ्न नहुने सुझाव सरोकारवालाको छ । भाषा र साहित्यको विकास नभएमा समाजको विकास पनि सम्भव नहुने र साहित्यभित्रका सबै विधाको लेखन, क्षमता विकास र आम मानिसलाई जागरण ल्याउने काम गर्नुपर्ने नेपाली साहित्य क्षेत्रका ज्ञाता बताउँछन् ।

धवलागिरि बहुमुखी क्याम्पस नेपाली शिक्षण विभागका प्रमुख डा दिनबहादुर थापाले प्रविधिले जित्न थालेकाले नेपाली भाषा ओझेलमा परेको बताए । नेपाली भाषा ओझेल पर्दा साहित्य पनि ओझेल परेको टिप्पणी उनको छ । साहित्यको संरक्षणका लागि नेपाली भाषा, पत्रकारिता र आमसञ्चारका माध्यमको अधिकतम उपयोग गर्नुपर्नेमा समेत उनी जोड दिए । धवलागिरि वांमय प्रतिष्ठानका अध्यक्ष लालचन्द्र राजभण्डारीले लेखन क्षेत्रको विकासका लागि सबैले चासो बढाउनुपर्ने बताउँछन् । विद्यामन्दिर माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक जगन्नाथ आचार्यले लुकेका प्रतिभाको उजागर गर्ने र साहित्यभित्र आख्यान लेखनदेखि सबै प्रकारका विषयको समान उठान र प्रचारमा सबैले चासो राखेमा साहित्यको विकास हुने बताउँछन् ।

विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले अबको पुस्ताले साहित्यको संरक्षण र पुनःउत्थान गर्न नसके नेपाली सभ्यतानै खतरामा पर्ने सुझाउनुहुन्छ । धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले पनि बागलुङको साहित्य पुनःउत्थानका लागि अभियान नै आवश्यक रहेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर