स्याङजा, चैत ४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले फेदीखोला गाउँपालिकामा असिनापानीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्यालले आज किसानको खेतबारीमै पुगेर शनिबार राति हावाहुरीसहित आएको असिनापानीले गाउँपालिकामा पु¥याएको क्षतिको निरीक्षण गरेका हुन् ।
असिनापानीले ठूलो क्षति पु¥याएको वडा नं ४ को आरुखर्क र २ को कुडुलेमा पुगेर स्थलगत निरीक्षण गरेपछि किसानलाई घटनाबाट विचलित नहुन आग्रह गरेका छन् । कृषिका माध्यामबाट समृद्धि ल्याउने योजनाको साथ अगाडि बढेको फेदीखोला गाउँपालिकामा असिनापानीले पु¥याएको क्षतिले आफूलाई दुःखी बनाएको बताउँदै उनले प्राकृतिक विपत्तिबाट ठूलो क्षति हुन पुगे पनि फेरि ऊर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न त्यस क्षेत्रका किसानलाई आग्रह गरेका छन् ।
मन्त्री अर्यालले भने, ‘तपाईहरू कति पनि विचलित नभएर फेरि पनि ऊर्जाका साथ लाग्नुस्, राज्यले तपाईहरूलाई सहयोग गर्छ’, मन्त्री अर्यालले भने, ‘क्षतिको पूर्ण विवरण आइसकेपछि संघ प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपूर्ति दिने व्यवस्था सरकारले गर्छ ।’
शनिबार राति परेको असिना पानीले वडा नं १ र वडा नं ४ मा पूर्णरुपमा क्षति पु¥याएको छ भने अन्य वडामा आंशिक क्षति पु¥याएको छ । असिना पानीका कारण टनेल, कुखुराको फार्म, किसानले लगाएको तरकारी टमाटर, साग, काउली, बन्दा, सुन्तलाको रुख, डाले घाँसलगायतमा क्षति पुगेको वडा नं ४ का अध्यक्ष माधव शर्माले जानकारी दिए ।