ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा
शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

बैतडी, चैत ८ : बैतडीका तीनवटा स्थानीय तहमा ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउन थालेपछि खुशी भएका छन् । मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमअन्तर्गत पाटन, दशरथचन्द र पुर्चौंडी नगरपालिकामा स्वास्थ्यकर्मी घरमै पुगेर ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिरहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

तीनवटै स्थानीय तहमा एक एक हेल्थ असिष्टेन्ट वा स्टाफ नर्स खटाएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिने काम भइरहेको उनले बताए । स्वास्थ्यकर्मीले घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेको छन् । उनले भने, ‘कार्यक्रम सञ्चालन भएका तीनै तहका प्रत्येक वडामा पुगेर स्वास्थ्यकर्मीले सेवा दिइरहेको छ ।’

ज्येष्ठ नागरिक स्वास्थ्य संस्थासम्म सेवाका लागि आउन नसक्ने भएकाले उनीहरूलाई घरमै पुगेर सेवा दिने कार्यक्रम थालिएको भट्टले जानकारी दिए । स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य सेवा दिँदा आफूहरू निकै खुशी भएको ज्येष्ठ नागरिकले बताएका छन् । घरमै आएर रक्तचाप जाँच गर्ने र अरु स्वास्थ्यका बारेमा स्वास्थ्यकर्मीले जानकारी दिँदा आफूहरू निकै खुशी भएको दशरथचन्द नगरपालिका–५ का सुरेश लेखकले बताए । उनले भने, ‘घरमै औषधि पाउँदा हामी निकै खुशी छौँ ।’

गाउँगाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेको र घरमै सेवा पाउँदा उनीहरू खुशी भएको स्टाफ नर्स दीपा मौनीले बताए ।

अपांगता परिचयपत्र वितरण

बैतडीको सुर्नया गाउँपालिकाले वडामै पुगेर अपांगता परिचयपत्र वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छ । अपांगता परिचयपत्रका लागि आवश्यक कागजपत्र बनाइसकेका सेवाग्राहीलाई वडामै पुगेर परिचयपत्र वितरण गर्ने काम भइरहेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिए ।

अपांगता भएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले नै परिचयपत्र वितरण गर्नुपर्ने प्रावधान छ । साविकको महिला तथा बालबालिका कार्यालयले यसअघि अपांगता परिचयपत्र वितरण गर्दै आएको थियो । गाउँपालिकाका प्रत्येक वडामा पुगेर अपांगता भएका व्यक्तिलाई उनीहरूको कागजपत्रको आधारमा परिचयपत्र वितरण गर्ने कार्य भइरहेको हो ।

सुर्नया गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा अपांगता परिचयपत्र वितरण गरिएको छ । चार वटै वडामा १९ लाई अपांगता परिचयपत्र वितरण गरिएको वडा नं ३ का वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिए । अपांगता परिचयपत्र प्राप्त गरिसकेपछि अपांगता भएका व्यक्तिलाई सरकारी सेवा सुविधा लिन सजिलो हुने सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष गजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर