काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–१९) को परीक्षण अब नेपालगञ्जमै गर्ने सरकारी निर्णयले बाँकेवासी उत्साहित भएका छन् । हाल सङ्घीय राजधानी काठमाडौँमा मात्रै हुँदै आएकामा कोभिड–१९ को परीक्षण धरान, पोखरासँगै नेपालगञ्जमा समेत प्रस्ताव गरिनु पश्चिम नेपालकै लागि खुशीको कुरा भएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
उहाँका अनुसार अहिले परीक्षण गर्ने उपकरण नहुँदा कोरोनाको आशङ्का गरिएका व्यक्तिको नेपालगञ्जबाट स्वाब सङ्कलन गरी काठमाडाँै पठाउनुपर्ने बाध्यता रहेको छ । यसक्षेत्रका अन्य सरकारी तथा निजी अस्पतालले भेरी अस्पतालमा बिरामी प्रेषण गर्ने गरे पनि हालसम्म कोरोना भाइरस परीक्षण गर्ने उपकरण नहुँदा तत्काल सेवा प्रवाह गर्न सकिएको छैन ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड–१९ को परीक्षण यथाशीघ्र शुरू गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक परीक्षण सामग्री र तालीमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला शुरू हुँदा प्रदेश ५ सँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका जनताले यथाशक्य सेवा पाउने बताउनुभयो । “सरकारले सबैलाई समेट्ने गरी उपयुक्त निर्णय गरेको छ, प्रयोगशाला स्थापना र सञ्चालनका लागि हामी सबैले चासो देखाउनु पर्दछ”, उहाँले भन्नुभयो, “नेपालगञ्जमा परीक्षण शुरू भएपछि रिपोर्टका लागि लामो समय पर्खिनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।”