सिड्नी, चैत १३ : अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गएपछि यहाँका संघीय तथा राज्य सरकारहरुले बिभिन्न नियमहरु लागु गरेका छन् । विशेष गरी भाइरस फैलिन नदिन सामुदायिक तथा व्यक्तिगत दुरी कायम गर्नुपर्ने अनिवार्य नियमले यहाँका हजारौ निजी तथा सरकारी कार्यालयहरु बन्द छन् । अत्यावश्यक बाहेक सबैलाई घर बाहिर ननिस्कन भनिएको छ । यातायात, शैक्षिक संस्था, स्वास्थ्यकेन्द्रहरु र दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्ने सुपर मार्केटहरु खुल्ला छन् ।
सामाजिक दुरी कायम गर्न जन्मोत्सव तथा बनाभोज कार्यक्रमहरुमा रोक लगाइएको छ । अन्तर्राष्ट्रिय तथा कतिपय राज्य सिमानाहरू पनि बन्द गरिएका छन् । सरकारले बुधबार बिहान अष्ट्रेलियाका मोबाइल बोक्ने सबै मानिसलाई कोरोना भाइरस फैलन नदिन सन्देश पठाइएको छ, जसमा भनिएको छ– यो कोरोना भाइरसबारे अष्ट्रेलिया सरकारको सन्देश हो फैलन नदिन अरुसँग साढे एक मिटरको दुरी कायम गर्नुस्, सामाजिक जमघट बारेका नियमहरु पालना गर्नुस्, हात धुनुहोस् र बिसन्चो महसुस भएमा घरमै बस्नुस् ।