कोरोना संक्रमण : स्थानीय तहमा ज्वरोमापन यन्त्रसमेत छैन !
बिहिबार, चैत १३, २०७६ मा प्रकाशित

बलेवा, चैत १३ : कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बागलुङका स्थानीय तह व्यवस्थापनमा जुटेका छन् ।

कतिपय स्थानीय तहले पूर्वाधार निर्माण थालेका छन् भने कतिपयले सामान्य ज्वरो जाँच गर्ने यन्त्रको समेत व्यवस्थापन गर्न सकेका छैनन् । नेपाली सेना र प्रहरीले तयार पारेका पूर्वाधारको भरोसामा बागलुङ नगरपालिका धवलागिरि अञ्चल अस्पताल सञ्चालनमा छन् । स्वास्थ्यकर्मीका लागि आवश्यक पिपीइको व्यवस्थापनमा सक्रियता बढाइएको छ भने प्राथमिक स्वास्थ्य चौकी र केन्द्रलाई तयारी अवस्थामा राखिएको नगर कार्यपालिकाले जनाएको छ ।

 कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला जैमिनी नगरपालिकाले कुनै पनि तयारी गरेको छैन । संक्रमित देखापरेमा राख्नुपर्ने क्वारेन्टाइन, बिरामी पुष्टि भएमा चिकित्सकको निगरानीमा राख्नुपर्ने आइसोलेसनलगायतका कुनै पनि पूर्वाधारको तयारी नरहेको नगर कार्यपालिकाले जनाएको छ । जैमिनी नगरका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भने, ‘शान्ति माविलाई क्वारेटाइन बनाउने भन्ने छ । आवश्यक परे नजिकका विद्यालय प्रयोग हुन्छन् । जानकारीको अभावले तयारी गर्न नसकिएको उनले बताए । सम्बन्धित बिषयका विज्ञ नगरमा नरहेको र हल्लाका भरमा तयार भएका पूर्वाधारले काम नदिने उनको तर्क छ । हामीसँग ज्वरो नाप्ने सेन्सर थर्ममिटरसमेत छैन, खरिदका लागि खोजेको धेरै भयो तर बजारमै पाइँदैन, उनले भने, ‘जो कोहीले उपलब्ध गराए भुक्तानी गर्न तयार छौँ ।

 लकडाउनको समयमा बाहिर ननिस्कन, कोरोनाका कारण हुनसक्ने क्षति, लक्षण र सावधानीका उपायको विषयमा भने प्रचारप्रसार गरेर चेतना फैलाउने काममा लागिएको उनले बताए । जैमिनीमा अत्यावश्यक औषधिको भने अभाव नरहेको र मास्क तथा सुरक्षा सामग्रीको प्रबन्ध भइरहेको उनको दाबी छ ।

बरेङ गाउँपालिकाले आवश्यक औषधिको तयारी थालेको छ । विपद् व्यवस्थापनका लागि भन्दै १० लाख बजेटको व्यवस्था गरेको गाउँपालिकाले सोही रकमले औषधि, मास्क, स्यानिटाइजर तथा सुरक्षा सामग्रीको प्रबन्ध गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । गाउँपालिकाले बाटाकाचौरमा रहेको जनता प्राविमा २५ जना अट्न सक्ने क्वारेन्टाइन बनाएको छ ।

कृषि कर्मबाट नै बरेङका सर्वसाधारणको दैनिकी चल्ने भएकाले पाँच जनाभन्दा धेरै जम्मा भएर खेतबारीको कामसमेत नगर्न आग्रह गरिएको थापाले बताए । गाउँमा मल (गाईभैँसीको गोबर) बोक्ने बेला भएको छ, थापाले भने, ‘हुद्धा (समूहमा गरिने काम) लगाउँदा समेत पाँच जनाभन्दा धेरै नहुन भनेका छौँ । शहरबजारमा फैलिएको कोरोना त्रासका कारण गाउँ फर्किएका युवालाई लकडाउनमा सम्हाल्न बरेङलाई धौधौ भएको छ । २०÷२५ जना जम्मा भएर पिकनिक खान खसी डो¥याएर हिँडेको देखेपछि रोक्यौँ, उहँले भने, ‘सुरक्षाकर्मी नै परिचालन गरेर वनभोज खाने, धेरै जम्मा भएर तास खेल्नेजस्ता क्रियाकलाप बन्द गर्न लगाएका छौँ ।

 यस्तै बडिगाड गाउँपालिकाले जिल्ला समन्वय समितिको भवनमा क्वारेन्टाइन निर्माणको तयारी थालेको छ भने ताराखोलाले हिल स्वास्थ्य चौकीलाई क्वारेन्टाइन बनाएको छ । ताराखोलाका पाँच वडाका स्वास्थ्य संस्थामा कम्तीमा चार श्ययाको आइसोलेसन बनाउने तयारी पनि गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । निसीखोलाले गाउँकार्यपालिका नजिकै रहेको एक विद्यालयमा क्वारेन्टाइन बनाउने तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताए । तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाले पनि आवश्यक तयारीका लागि छलफल चलाइरहेको जनाएका छन् ।

लकडाउनपूर्व नाकामा हेल्थ डेक्स र १० जनाभन्दा धेरै जम्मा नहुन आग्रह गर्दै आएको गल्कोट नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइनको तयारी गरिरहेको जनाएको छ । काठेखोला गाउँपालिकाले आठ वटै वडालाई आइसोलेसनसहित क्वारेन्टाइन व्यवस्थापन गर्न भनेको छ । वडा नं ४ तंग्राम र ८ लेखानीले स्थानीय विद्यालयमा क्वारेन्टाइन बनाएको जनाएका छन् भने बाँकी वडाले खाली रहेका र बस्तीदेखि टाढा रहेका विद्यालयलाई प्रयोगमा ल्याउने जनाएका छन् । ज्वरो नाप्ने मेसिन त छैन के क्वारेन्टाइन बनाउनु खै वडा नं ७ का अध्यक्ष प्रेमबहादुर जिसीले भने, ‘वडाले सक्नेजति सबै तयारी भइरहेकै छन् । गाउँपालिकाले कार्यपालिका नजिकै रहेको भीमसेन माविमा क्वारेन्टाइन निर्माण गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर