न्युयोर्क, चैत १४ : अमेरिकाको न्युयोर्क राज्य सबैभन्दा बढी कोरोना भाइरस संक्रमण (कोभिड–१९)को जोखिममा रहेको छ। अमेरिकी सरुवारोग विज्ञले न्युयोर्कलाई कोभिड–१९ को इपिसेन्टर मान्दै आएका छन्।
न्युयोर्कमा मात्र हरेक तीन दिनमा संक्रमित संख्या दोब्बर देखिँदै आएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ। हालसम्म न्युयोर्कमा ३७ हजार ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएकोमा ३ सय ८५ जनाको ज्यान गइसकेको छ। अमेरिकाका ५० राज्यमध्ये एक न्युयोर्क सहरको कूल जनसंख्या करिब ९० लाख जति रहेको छ। अमेरिकामा भरिमा कोरोना भाइरसका कारण हालसम्म १२०९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ८३६७२ पुगेको छ ।
न्युयोर्कमा कोरोना संक्रमण फैलँदै गएपछि त्यहाँका नेपाली चिन्तित भएका छन्। उनीहरुले घरमै रहेर सुरक्षित बन्ने उपाय अवलम्बन गर्दै आएका छन्। न्युयोर्कमा बस्दै आएका विष्णु पौडेलका अनुसार न्युयोर्क सिटीमा मात्र करिब ६० हजार नेपाली बसोेबास गर्छन्। त्यहाँका अधिकांश नेपाली रेस्टुरेन्ट, ग्रसरी, होम केअरलगायतमा काम गर्नुका साथै क्याब चलाउने नेपालीको संख्या पनि उल्लेखनीय छ।
न्युयोर्कमा रहेका कूल नेपालीमध्ये ८० देखि ९० प्रतिशत क्वीन्समा बसोबास गर्दै आएका छन्। कोरोना संक्रमण बढ्दै गएपछि नेपाली समुदायलाई आर्थिक समस्या त छँदै छ, यसका साथै मानसिक त्राससमेत बढ्दै गएको पौडेलको भनाइ छ। त्यहाँ रहेका नेपालीहरुले घरमै क्वारेन्टाइनमा रहे पनि फेसबुकमा ग्रुप बनाएर सूचना आदानप्रदान गरिरहेका छन्।
अमेरिकामा विश्वको इतिहासमै सबैभन्दा बढी बेरोजगार
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वकै इतिहासमा अमेरिकामा सबैभन्दा बढी बेरोजगारको संख्या बढ्ने भएको छ। पछिल्लो तीन सातामा बढेको कोरोना महामारीका कारण अमेरिकाको अर्थतन्त्र तहसनहस भएपछि यो संख्या बढेको हो। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार हालसम्म ३३ लाख अमेरिकी नागरिकले बेरोजगार सूचीमा आफ्नो नाम दर्ता गराएका छन्। ‘यो बेरोजगारको संख्या इतिहासकै उच्च हो,’ सिएनएनले भनेको छ।
कोरोनाका कारण विभिन्न उत्पादनमूलक तथा सेवा क्षेत्रमा काम गर्ने लाखौं अमेरिकी बेरोजगार भएका सिएनएनले जनाएको छ। यसैबीच अमेरिकी सिनेटले २ ट्रिलियन अमेरिकी डलरको कोरोना राहत प्याकेज घोषणा गरेको छ, जुन हाउसमा गएपछि पारित हुने अपेक्षा गरिएको छ।
अमेरिकामा हालसम्म कोरोना संक्रमित संख्या विश्वकै सबैभन्दा बढी देखिएका छन्। अमेरिकामा कोरोना संक्रमितको संख्या ८३ हजार १ सय ४४ पुगेको छ। कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या १ हजार २ सय ९ पुगिसकेको छ। सिएनएन