काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड-१९) ले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ अध्यक्षहरूसँग प्रत्यक्ष सम्वाद गरेका छन्। मन्त्री ज्ञवालीले सोमबार मन्त्रालयबाट विदेशस्थित ११ देशका गैरआवासीय नेपाली संघका अध्यक्षसँग भिडियो कन्फ्रेन्समार्फत् नेपाली समुदायमा कोरोना भाइरसका कारणले विचल्लीमा परेका नेपालीको आवाजको सुनुवाइ गरेका हुन्।
उनले नेपालमा लकडाउनको अवस्था लम्बिँदै गएका कारणले विदेशमा रहेका नेपाललाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी दिए। ‘विदेशमा अलपत्र परेका नेपालीप्रति सरकार पूर्णरुपमा जानकार र सचेत छ, हामी अवस्था अनुकूल हुनेबित्तिकै नेपाल फर्काउन प्रक्रिया सुरु गर्छौं,’ मन्त्री ज्ञवालीले भने, ‘सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतः खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्बोधन गर्ने विषयमा सकारात्मक छ।’
मन्त्री ज्ञवालीले कोरोनाबाट प्रभावित देशसँगसमेत सरकारले छलफल गरिरहेको जानकारी दिँदै विदेशस्थित संघसंस्था र सरकारी नियोग नभएका देशमा गैरआवासीय नेपाली संघसँग मिलेर काम गर्न नेपाली दूतावासहरू सक्रिय पारिएको जनाए।
सरकारका कूटनीतिक नियोग र गैरआवासीय नेपाली संघसँगको छलफलबाटै समस्याको समाधान निकालिने जानकारी दिँदै मन्त्री ज्ञवालीले विदेशमा गैरआवासीय नेपालीलाई धैर्य गर्न आग्रह गरे। उनले अप्ठ्यारो अवस्थामा विदेशमा रहेका नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्दै कोरोना भाइसरविरुद्ध जनचेतना, पीडितका लागि राहत वितरणलगायतका काममा गैरआवासीय नेपाली संघका शाखाले खेलेको भूमिकाप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।
मन्त्री ज्ञवालीले कोरोनाबाट प्रभावित देशसँगसमेत सरकारले छलफल गरिरहेको जानकारी दिँदै विदेशस्थित संघसंस्था र सरकारी नियोग नभएका देशमा गैरआवासीय नेपाली संघसँग मिलेर काम गर्न नेपाली दूतावासहरू सक्रिय पारिएको जनाए।
बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणलाई रोक्न नेपाल सरकारले चालेका कदम प्रभावकारी रहेको बताए। अध्यक्ष पन्तले भने, ‘विदेशको अनुभवले पनि नेपाल सरकारका निर्णय निकै प्रभावकारी देखिएका छन्। धेरै देशले लकडाउनको निर्णय समयमा गर्न नसक्दा संक्रमण बढ्ेको छ, लकडाउनको लागि नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक हो।’
अध्यक्ष पन्तले कोरोनो भाइरसले प्रभावित पारेका वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति राहत कार्यक्रममा सरकारसँग मिलेर काम गर्न संघ तयार रहेको बताए। उनले युरोप अमेरिकाका गैरआवासीय नेपालीभन्दा मध्यपूर्वका देशमा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो समस्यामा रहेको बताए। पन्तले भने, ‘सरकारसँग युरो अमेरिकाको धेरै अपेक्षा छैन, तर श्रमिकका लागि सरकारले पहलकदमी चाल्नुपर्छ।’
संघका महासचिव हेमराज शर्माले नेपाल सरकारले विदेशमा रहेका नेपाली चिकित्सकहरूको विज्ञतालाई अहिलेको कोरोना महामारीमा सदुपयोग गर्न सुझाव दिए। उनले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीचको एक संयुक्त कार्यदलमार्फत कोरोना पीडितका लागि राहत वितरण गर्नुपर्ने विचार व्यक्त गरे।
वैदेशिक रोजगारमा रहेका नेपालीको संख्या ठूलो भएकाले संघको साधनस्रोतले मात्र नपुग्ने हुँदा सरकारको तर्फबाट राहत कार्यक्रममा सहकार्यको लागि आग्रह गरेको गैरआवासीय नेपाली संघको नीति तथा प्रोसिडर समितिका संयोजक रामशरण सिम्खडाले बताए। बैठकमा सहभागी अध्यक्षहरूले विद्यार्थी, भूपूगोर्खा, वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या, राहत तथा स्वास्थ्यसम्बन्धी सामग्री वितरण, नेपाल तत्काल फर्कन चाहनेको व्यवस्थापनलगायत विषयमा मन्त्रीसमक्ष आ–आफ्ना धारणा राखेका थिए।
उनीहरूले कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो प्रभाव पर्दा देश आर्थिक मन्दीमा जानसक्ने भन्दै दीर्घकालीन तथा अल्पकालीन आर्थिक नीति तय गर्न सरकारलाई सुझाव दिएका थिए।
भिडियो कन्फ्रेन्समा युके, जर्मनी, अमेरिका, इटाली, स्पेन, जापान, युएई, फ्रान्स, दक्षिण कोरिया, साउदी अरबलगायत देशका एनआरएनए अध्यक्ष तथा परराष्ट्र सचिव शंकर बैरागीलगायत मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो।