वासुदेव पौडेल
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असर नेपालको मध्यपहाडी क्षेत्रस्थित पहिलो पदमार्ग सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) को प्रवद्र्धन र विकासमा पनि परेको छ ।
तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो यो पदमार्गको प्रवर्द्धन र विकासको काम व्यापकरूपमा अघि बढिरहेका बेला एकाएक कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण बन्दाबन्दी (लकडाउन)को घोषणा गरेपछि यससम्बन्धी सबै काम रोकिएको हो ।
सन् २००० मा घोषणा भएका कारण सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) नामाकरण गरिएको यो पदमार्ग त्यसयता देशमा भएको सशस्त्र द्वन्द्वका कारण अपेक्षित विकास हुनसकेको थिएन । अपेक्षित गति लिन नसकेको अवस्थामा डेढ वर्षअघि नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा सञ्चारकर्मीसहितको स्थलगत अवलोकन भ्रमण गरिएको थियो । पछिल्ला समयमा यसको प्रवद्र्धन र विकासले तीव्रगति लिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।
“पछिल्ला समयमा प्रवर्द्धन र विकासका काम उत्साहजनकरूपमा बढेका थिए”, उनले भने, “समितिको प्रयास, नेपाल पर्यटन बोर्डको सहयोगसँगै गण्डकी प्रदेश सरकारले पनि यसलाई प्राथमिकतामा राख्दै यस आर्थिक वर्षका लागि बजेट उपलब्ध गराएको थियो ।”
सहस्राब्दी पदमार्गको विकासका लागि गण्डकी प्रदेश सरकारबाट विनियोजित रु ५० लाखबाट यसबीचमा विभिन्न कामहरू अघि बढाइएको उनले जानकारी दिए । प्रदेश सरकारले सहस्राब्दी पदमार्ग, अन्नपूर्ण पदमार्ग र धवलागिरि पदमार्गका लागि रु १८ करोड छुट्टै विनियोजन गरेको थियो ।
कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा पारेको प्रभावबाट मिलेनियम ट्रेकमा ठूलै असर पारेको उनले बताए । यसअघि नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का अवसरमा न्यूनतम ५० हजार पदयात्री त्यसमार्गबाट हिँडाउने लक्ष्य सार्वजनिक गरिएको थियो ।
उनकाअनुसार यस अवधिमा पदमार्गअन्तर्गत पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित ढोर मूलकोट दरबार क्षेत्रलाई तारबारसहित व्यवस्थित गर्ने लक्ष्य समितिको थियो । संरक्षण र विकासका लागि विस्तृत आयोजना प्रतिवेदनसमेत तयार भइसकेको अवस्थामा ठेक्का सम्झौता भएर काम बढाउने तयारीमा लाग्दालाग्दै कोरोना भाइरसका कारण काम रोकिएको उनले जानकारी दिए ।
ढोरकोट दरबार पदमार्ग क्षेत्रको ऐतिहासिकस्थल हो । आजभन्दा लगभग ३०० वर्ष पुरानो ढोर मुलकोट दरबारलाई समेट्दै समितिले विकासको पहल अघि बढाएको थियो । नेपालका बाइसे चौबिसे राजाका समयमा पहिलो राजा कृति खाँड र अन्य राजाले राज्य गरेको ढोर राज्य विसं १८३७ मा गोरखामा विलय भएको थियो । अहिले पनि यस दरबारमा तत्कालीन समयका भग्नावशेष पाइन्छ ।
दरबार, गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घर आदिको भग्नावशेष रहेको ढोर दरबार संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाँडले जानकारी दिए । दरबार हेर्न आउने पर्यटकका लागि दरबार नजिकैको रजस्थल गाउँमा घरवास कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
समितिले पदमार्गअन्तर्गतकै मिलेनियम गुफाको तारबारलगायतका कामलाई व्यवस्थित गर्ने योजना पनि कोरोनाले प्रभावित पारेको छ । पृथ्वी राजमार्गअन्तर्गतको तनहुँ दुलेगौँडाबाट झण्डै १५ किलोमिटर पश्चिम लागेपछि शुक्लागण्डकी नगरपालिका–१२ मा रहेको रमणीय घरेडीगाउँको पुछारमा यो गुफा रहेको छ । गाउँको पुछारमा सादीखोला पर्दछ जसले तनहँु र स्याङ्जा जिल्लालाई छुट्याएको छ । स्याङ्जातर्फको गाउँलाई सादीखोला गाउँ भनिन्छ ।
गाउँको पुछारमा एउटा दुलोबाट छिरेपछि भित्र अचम्मको खुला ठाउँ भएको गुफा पुगिन्छ । गुफाभित्रै दुई झरना छन् । रहस्य त के छ भने यी झरना हिउँदमा सुक्दैनन्, वर्षातमा पनि ठूलो हुँदैनन् । प्रकृतिले नै कुँदेका टलक्क टल्किने विविध प्राकृतिक कला त्यहाँ देख्न पाइन्छ । गुफाभित्र पसेपछि कहीँ हात्तीको शिर, कतै देवीदेवताको मूर्ति देखिन्छ भने कतै देवीदेवता बसेर बैठक चलाएजस्तो अनुभवसमेत गर्न सकिन्छ । गुफाका भित्तामा ठूलो सङ्ख्यामा चमेरा झुण्डिएर बसेको देखिन्छ ।
गुफालाई व्यवस्थितरूपमा तारबार गर्दै प्रवेशद्वार, टिकट घरजस्ता संरचना निर्माण गर्ने लक्ष्य राखिए पनि लकडाउनका कारण सबै काम रोकिएको महासचिव गुरुङले जानकारी दिए । यो गुफा एक बाख्राका कारण पत्ता लागेको अनौठो किंवदन्ती छ । स्थानीयवासीका अनुसार करिब १०० वर्षअघि पाखामा चरिरहेको बाख्रा एक्कासी हराएछ । बाख्रा खोज्ने क्रममा जमिनभित्रबाट बाख्रा कराएको आवाज सुनियो । स्थानीयवासीले भित्र पसेर हेर्दा त्यसबेला नै गुफा त देखियो तर त्यसबखत त्यसको महत्व नबुझ्दा यसको खासै चर्चा हुन भने सकेन ।
गुफाप्रति चासो र चर्चा बढ्दै गएपछि सन् २००० मा विदेशी भूगर्भविद्सहितको टोलीले गुफाको थप अध्ययन अनुसन्धान गर्यो । त्यसै समयमा नै गुफाको नाम ‘मिलेनियम गुफा’ राखी प्रचारप्रसार थालिएको समितिले जनाएको छ । गुफालाई व्यवस्थित गर्ने प्रयास कोरोनाको कारण प्रभावित बनेको समितिले जानएको छ । समितिको शुक्लागण्डकी वडा नं ११ राइपुरस्थित जन्तेढुङ्गालाई व्यवस्थित गर्ने योजना पनि प्रभावित बनेको छ ।
मिलेनियम ट्रेक व्यवस्थापन समितिले पदमार्ग क्षेत्रका प्रकृतिलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिका लागि पहल गर्दै यहाँस्थित प्राचीन महत्वको जन्तेढुङ्गालाई घरवास र पर्यटनसँग जोड्ने पहल थालेको हो । परापूर्वकालमा बेहुली लिएर आएका दुई समूहका जन्ती भेट हुनासाथ उनीहरू त्यही ठाउँमा एकाएक हराएको जनविश्वासका आधारमा उक्त स्थानलाई जन्तेढुङ्गा भन्ने गरिएको स्थानीयवासी बताउँछन् ।
स्थानीयवासी अग्निधर शर्माका अनुसार उक्त स्थानमा नेपाली समाजमा विशेषगरी विवाहमा बजाइने नौमती बाजाका आकृति कुदिएका ढुङ्गा छन् । नेपाली समाजमा परम्परागत नौवटा बाजाको सामूहिक बाजालाई नौमती बाजा भनिन्छ । पञ्चेबाजाको विस्तृतरूपमा समेत लिइने नौमतीमा पञ्चेबाजाका अतिरिक्त चार अन्य बाजा थपिएको हुन्छ । यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सनही, कर्नाल, नरसिङ्गा बाजा हुन्, जसमा सनही र दमाहाका दुई–दुई वटा सेट हुन्छ ।
यहाँ आउने पर्यटकले छरपस्ट छरिएका ढुङ्गामा विवाहका क्रममा बजाइने तिनै दमाहा, झ्याली, ट्याम्को, ढोलक, सनही, कर्नाल, नरसिङ्गा बाजाको सहजै अनुमान गर्दछन् । बाजाका आकृति कुँदिएका ढुङ्गामा बाजामा जस्तै विभिन्न आवाज आउने जनविश्वास पनि छ । यो स्थानलाई व्यवस्थित गर्दै पर्यटकीयरूपमा जोड्नका लागि पहल थालिएको जानकारी दिँदै महासचिव गुरुङले आगामी वर्ष यही स्थानमा ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा मूर्ति कार्याशाला गर्ने तयारी गरिएको बताए ।
समितिले पदमार्ग क्षेत्रकै भीरकोट नगरपालिका वडा नं ३ स्थित भीरकोट दरबार र वडा नं ७ स्थित देउपूजी ढुङ्गालाई पनि तारबार एवं व्यवस्थित गर्न लागेको छ । त्यस्तै पुतली बजार नगरपालिका वडा नं २ स्थित भैँसे गौँडाको खाँणदेवीको मन्दिर जाने सिँढी बाटोमा रेलिङ निर्माण गर्न लागिएको छ । पदमार्गकै कुसुम भञ्ज्याङबाट गहते मनकामना जाने सिँढी बाटो, पुतलीबजार नगरपालिका वडा नं ९ कोल्मामा चरा एवं वन्यजन्तु अवलोकनस्थललगायतका निर्माणकार्य पनि पछिल्लो समयमा आएर रोकिएका छन् ।
सहश्राब्दी पदमार्गको प्रवर्द्धन र विकाससँगै पदमार्ग क्षेत्रमा घरवास सञ्चालन गर्ने क्रमले पनि गति लिएको अवस्थामा कोरोनाले यहाँको घरवास पर्यटन पनि प्रभावित भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैैँसे गौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए ।
पदमार्ग क्षेत्रमा चरा पर्यटनको सम्भावनाका साथै यस क्षेत्रको समग्र प्रवर्द्धनका लागि गत माघ २३ र २४ गते यहाँस्थित राङभाङ भैँसे गौँडामा लाटोकोसेरो महोत्सव गरिएको उनले जानकारी दिए ।
“लाटो कोसेरो महोत्सवले यहाँको स्थानीय विशेषताको प्रवर्द्धनमा ठूलो भूमिका खेल्यो”, उनले भने, “प्रवर्द्धन एवं विकासका कार्यक्रमले गति लिँदै गएको अवस्थामा महामारीका कारण विकासको गति शिथिल बनाइदिएको छ ।” यो महामारीपछि रोकिएका प्रवर्द्धन र विकासका सबै कार्यक्रमलाई अघि बढाइने समितिले जनाएको छ । रासस