पेरिस, बैशाख १४ : स्विजरल्याण्डको हिमालमा चम्काइएका तेजिला बत्तीहरुमा अहिले नेपालको झण्डा पनि राख्ने गरिएको छ । कोरोनाभाइरस (कोभिड–१९)विरुद्धको लडाइँ जित्न एकताको सन्देश दिन स्वजरल्याण्डको हिमाली क्षेत्र जेर्मातस्थित मात्तरहर्नमा नेपालको झण्डा पनि चम्काउन थालिएको हो ।
गत मार्च २४ देखि स्विजरल्याण्डको जेर्मात जिल्लाले विश्वलाई प्रोत्साहन गर्ने प्रतीकको रुपमा यस्ता बत्तीहरु चम्काउन शुरु गरिएको हो ।
कोरोनासविरुद्धको लडाइँमा हिमाल जस्तै उच्च मनोबल र प्रकाश जस्तै चम्किलो भएर जित्न सकियोस् भन्ने सन्देश विश्वलाई दिन हिमालमा यस्ता चम्किला बत्तीहरु चम्काउने गरिएको हो ।
नेपाली झण्डा राख्दै त्यहाँ नेपालका बारेमा पनि सानो जानकारी राखिएको छ । त्यहाँ उनीहरुले लेखेका छन्– ‘नेपाल मित्रवत मान्छेसहितको देश मात्र होइन, विश्वको सबभन्दा अग्लो हिमाल भएको देश पनि हो । त्यसकारण, पहाडी गाउँको रूपमा जेर्मात जोडिएको महसुस भएको छ । एयर जेर्मात र माउन्टेन रेस्क्यु स्टेसनले वर्षौंदेखि पहाडी उद्धार र स्थानीय जनसंख्याको हेरचाहको क्षेत्रमा नेपाललाई सफलतापूर्वक सहयोग प्रदान गर्दै आएको छ । हामी नेपाललाई हाम्रो बलियो ऐक्तबद्धताको सन्देश पठाउँछौं ।’
मौसम सफा रहेका बेला सूर्यास्तदेखि मध्यरातसम्म अन्य देशका झण्डाको आकृतिसँगै नेपालको झण्डा पनि देख्न सकिन्छ ।