तनहुँ, वैशाख १६ : हेकाफ–नेपाल/राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा दमौली अस्पतालमा सञ्चालित शत्रुध्न मञ्जु डायलाइसिस केन्द्र दमौलीमा रगतको अभाव हुँदा उपचारमा समस्या भएको छ । यस केन्द्रले ४१ पुरुष र २७ महिला गरी ६८ जना बिरामीलाई डायलाइसिस सेवा दिँदै आएपनि रगतको अभावका कारण उपचारमा समस्या भएको केन्द्रका प्रमुख प्रेमसिं गुरुङले जानकारी दिए ।
कूल ६८ मध्ये पालैपालो गरी दैनिक २२ देखि बढीमा २४ जना बिरामीको हप्तामा दुई पटकका दरले डायलाइसिस गर्ने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ । डायलाइसिसका बिरामीले निर्धा्रित समयमा डायलाइसिस गर्न छुटाए भने शरीरमा पानीको मात्र बढ्न गई तौलमा बृद्धि र श्वास फेर्न गाह्रो हुने भएकाले डायलाइसिस गर्न आवश्यक पर्ने उनले बताए ।
डायलाइसिस गर्दा यस्ता प्रकृतिका बिरामीमा रगत प्रयोग गर्नुपर्ने हुन्छ । उनले भने, ‘‘केन्द्रमा सङ्कलित रगत पनि सकिएकाले उपचारमा समस्या देखिएको हो ।’’ जेसिआई व्यास नगरपालिकाले केही दिनअघि रक्तदान कार्यक्रम गरी ३० पिन्ट रगत सङ्कलन गरी दमौली अस्पताललाई प्रदान गरेको थियो । उक्त केन्द्रमा उपचारको लागि आउने ६८ जनामध्ये २० जना बिरामीलाई २० पिन्ट रगत बढीमा एक हप्ताको लागि पुग्न सक्छ । उनले भने, ‘‘बाँकी ४८ जनालाई रगत नहुँदा उपचारमा समस्या पर्ने देखिएको छ ।’’
दमौली अस्पतालमा २०७२ मङ्सिर २ गतेदेखि मिर्गौला डायलाइसिसको शुरुआत गरेपछि तनहुँलगायत छिमेकी जिल्ला गोरखा, लमजुङ, स्याङ्जाबाट बिरामीहरु आउने गर्दछन् । यस केन्द्रमा उपचारको लागि आउने बिरामीलाई औषधिबाहेक डायलाइसिस सेवा निःशुल्क रुपमा प्रदान गरिएको छ ।
चार जनाको स्वाब परीक्षण गर्न पठाइयो
तनहुँमा हालै भारतबाट घर फर्किएका चार जनाको सोमबार स्वाब सङ्कलन गरी परीक्षणको लागि क्षेत्रीय गण्डकी अस्पताल प्रयोगशालामा पोखरा पठाइएको छ । भिमाद नगरपालिकाका तीन र शुक्लागण्डकी नगरपालिकाको एक गरी चार जनाको स्वाब परीक्षणको लागि पठाइएको हो । चारै जनालाई क्वारेन्टमा राखी उनीहरुको आरडिटी परीक्षण गर्दा ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।
केही दिनअघि मात्रै उनीहरु घर आएकाले आरडिटी परीक्षणले मात्रै विश्वास नलागेका कारण स्वाब परीक्षण गर्न लागिएको उनले बताए । सोमबारसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २९ जना पुगेको छ । जिल्लामा यसअघि १८ जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि पोखरा पठाइएकामा उनीहरुको नेगेटिभ देखिएको थियो ।
तनहुँमा विभिन्न देशबाट घर फर्किएकामध्ये हालसम्म ५०२ पुरुष र ७३ महिला गरी ५७५ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) किटमार्फत कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको छ । जिल्लामा १८ जनाको स्वाब सङ्कलन गरी पोखरा परीक्षणको लागि पठाइएकामा उनीहरुको समेत नेगेटिभ देखिएको छ ।
व्यास नगरपालिकामा १३७, शुक्लागण्डकीमा ८२, भिमाद नगरपालिकामा ७३, ऋषिङ गाउँपालिकामा ६२, भानु नगरपालिकामा ४९, घिरिङ गाउँपालिकामा ४०, म्याग्दे गाउँपालिकामा ३६, देवघाट गाउँपालिकामा ३६ बन्दीपुर, गाउँपालिकामा २६ आँबुखैरेनी गाउँपालिकामा २१ र बन्दीपुर अस्पतालमा १२ जना गरी ५७५ जनाको आरडिटी परीक्षण गरिएको हो ।
जिल्लामा दश पालिकामध्ये चार नगरपालिका र छ गाउँपालिकाका ८५ वटै वडाहरुमा पुगेर विदेशबाट घर फर्किएका व्यक्तिहरुको आरडिटी परीक्षण गरिएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिए । जिल्लामा २५ स्थानमा एक सय ८१ शय्याको क्वारेन्टाइन र पाँच स्थानमा गरी ४२ शय्याको आइसोलेसन स्थापना गरिएको छ । त्यसैगरी ४३१ थान पिपिई, हेल्थ डेस्क ५९ स्थापना भएको छ । अन्य विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा बस्दै आएका छन् ।
बिहान बेलुका दुई पटक अत्यावश्यक पसल खुल्ला गरिदै आएकामा अहिले बिहान एक पटक मात्रै खोल्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । अन्यत्र जिल्लाबाट आउने तरकारी तथा फलफूललाई आयातमा रोक लगाई जिल्लाभित्रै उत्पादन भएका तरकारी र फलफूललाई प्राथामिकता दिइएको उनले बताए । रासस