सञ्चिता घिमिरे/सुभानु आचार्य
ठेचोका सुन्दर महर्जन केही दिनअघि एउटा हातमा कोदाली र अर्को हातमा पानीको बोतल बोकेर खेत जाँदै गर्दा भेटिए । उनि गत साता छरेको धानको बीउमा पानी लगाउन जान लागेका थिए ।
बन्दाबन्दी (लकडाउन) ले आफूलाई खासै असर नगरेको उनको भनाइ छ । शहरी क्षेत्रका मानिसलाई दिन बिताउनै गाह्रो भएको भनिरहेका बेला उनलाई त्यस्तो छैन । उनले भने, ‘आफ्नो काम गर्यो खायो मलाई लकडाउनले कुनै असर गरेको छैन ।’
देशभर ‘लकडाउन’ घोषणा भएको ४२ दिन पुगिसक्यो काठमाडौँका आसपासका क्षेत्र (काँठ क्षेत्र) का किसानमा भने यसको कुनै असर देखिँदैन । अहिले खेतबारीमा काम गर्ने समय भएकाले होला उनीहरु दिनभर खेतीमै बिताउने गरेका छन् । खेतमा आलु खन्ने, गहुँ रोप्ने र बारीमा मकै छर्ने काममा लागिरहेको देखिन्छ ।
यस क्षेत्रमा तरकारीखेती व्यावसायिकरुपमा नै गर्ने धेरै छन् । लकडाउनको पहिलो साता तरकारी बेच्न नपाए पनि अहिले तरकारी बजार गइरहेको उनीहरु बताउँछन् । पशुपालन गर्नेहरु पनि दूध नियमितरुपमा बेचिरहेका छन् ।
शहरी क्षेत्रमा बहालमा बस्ने धेरै भए पनि काँठ क्षेत्रमा बहालमा बस्ने कम छन् । अधिकांश आफ्नै घरमा बस्ने भएकाले होला साविकको जस्तै दिनचर्या चलिरहेको काँठ क्षेत्रमा बस्नेहरु बताउँछन् । आफ्नो घर आँगनदेखि खेतबारीसम्म हिँड्न पाएकाले शहरी क्षेत्रमा जस्तो यहाँ उनीहरुले थुनिएको महसुस गरेका छैनन् । शहरी क्षेत्रमा सबै कुरा किन्न बाहिर निस्कनु परे पनि यस क्षेत्रमा धेरैलाई आफ्नो खेतबारीमै आवश्यक तरकारी फल्ने हुँदा पनि बाहिर निस्कनु परेको छैन ।
मुख्य सडक क्षेत्रमा बाहेक अधिकांश स्थानमा सामान्य दिनचर्या नै रहेको चापागाउँका विष्णुप्रसाद तिमल्सिनाले बताए । कार्यालय जाने कर्मचारी र व्यापारीलाई असर परे पनि गाउँघरमै काम गर्नेलाई कुनै असर नपरेको उनले बताए । विगतमा यस क्षेत्रमा स्थानीयवासी आफू खेतबारीको काम नगर्ने र ज्याला दिएर अरुलाई काम लगाउने भए पनि त्यसमा भने परिवर्तन आएको छ । यो समयमा सबैले काम गर्नुपर्छ भन्ने मानसिकताका साथ घर वरिपरिका करेसाबारी र बाँझो जमिनसमेत खनेर उत्पादन गरिरहेका छन् ।
प्लटिङ गरी व्यापारका लागि सम्याएका बाँझो जमिनमा समेत अहिले धमाधम खनजोत भइरहेको छ । उनले भने, ‘एकातिर ज्यालामा काम गर्नेहरु आ–आफ्नो घर फर्किए र अर्कातिर परिवारका सबै घरमै भएकाले परिवारका सदस्य मिलेर काम गरेको पाइन्छ ।’ काठमाडौंका गेश्वरी मनोहरा नगरपालिका वडा ५ निवासी ७१ वर्षीया लक्ष्मी कुइँकेलले सामाजिक दूरी कायम गरी आफ्ना क्षेत्रमा धमाधम खेतीबारीको काम गरिरहेका बताइन् ।
काम नपर्दा घरबाट बाहिर ननिस्कने तर चाहिने कुरा किन्न कुनै अवरोध नरहेको उनले बताइन् । उनले भनिन्, ‘दिनहुँ चाहिने खानेकुरा किन्न जान कसैले रोकेका छैनन् ।’
ललितपुर जिल्लाका तीन गाउँपालिका वाग्मती, कोञ्जेसोम र महाङ्कालमा पनि दैनिक काममा लकडाउनले खासै असर नगरेको स्थानीयवासीले जानकारी दिएका छन् । देशका अरु जिल्लामा जस्तै शहरी क्षेत्रमा रोजगारी वा अध्ययनका लागि बस्नेहरु घर फर्किएका छन् । यहाँ कृषि र पशुपालनका काममा कुनै अवरोध नभएको महाङ्काल गाउँपालिकाका वडाध्यक्ष रामचन्द्र दाहालले बताए । उनले भने, ‘दैनिक उत्पादन हुने दूध, तरकारीलगायतका वस्तु दैनिक व्यापारका लागि बजार ल्याउने व्यवस्था गरिएको छ ।’
गाउँघरमा पशुपालन र कृषिमा लकडाउनको प्रभाव कम रहेको स्थानीयवासी दीपक घिमिरेले बताए । भौगोलिक विकटताका कारण पातलो बस्ती भएकाले दैनिक गर्ने काममा खासै प्रभाव नपारेको उनले बताए । सरकारले भनिरहेको सामाजिक दूरी ग्रामीण क्षेत्रमा सामान्य अवस्था नै पालना भइरहेको उनको भनाइ छ ।
अरु समयमा गाउँ भनेर हेला गरिए पनि यस्ता सङ्कटको समयमा शहरभन्दा गाउँ नै उपयुक्त हुने उनको भनाइ छ । उनले भने, ‘शहरमा बस्नेलाई पैसा भए पनि किनेर खान पाइएला नपाइला भन्ने चिन्ता छ तर हामीलाई त्यस्तो छैन ।’
पहिले बजारको समस्या हुने गरेको भए पनि अहिले तरकारीका लागि बजारको समस्या नभएको भक्तपुर सुडालकी सरस्वती थापाले बताइन् । बजारमा अहिले तरकारीको मूल्य भने असाध्यै कम भएको उनको भनाइ छ । लकडाउन शुरु हुनासाथ बेच्ने समय भइसकेको काउली उनि अहिले बेचिरहेकी छिन् । तर काउलीको भाउ भने प्रतिकिलो रु १० मात्रै पाएको उनले बताइन् । साग रोप्ने जमिन तयार पार्दै गरेकी उनले यो साग भने आफ्नो परिवारलाई मत्र पुग्नेगरी रोप्ने बताइन् । उनले भनिन्, ‘दुःख गरेर रोप्यो बेच्ने बेलामा बीउ, मल र ज्याला नै उठ्दैन ।’
चन्द्रागिरि नरपालिका–५ निवासी ७८ वर्षीय विष्णुप्रसाद सिग्देलले पहिले अधिकांशले आफ्नै करेसाबारीसमेत ज्याला लगाएर खन्ने र रोप्ने गरेकामा लकडाउनले त्यसमा परिवर्तन ल्याएको बताए । अहिले कार्यालय बिदा भएर घरमा बस्दा धेरै करेसाबारी हरियोपरियो बनाएको उनले बताए ।
यो अवस्था अझै कहिलेसम्म हुने हो र भोकै हुनुपर्र्ला भनी बाँझो रहेको जमिन वा छिमेकीकोे जमिनमा पनि अन्न तथा विभिन्न बाली रोप्ने प्रवृत्ति बढेको छ । उनले भने, ‘हिजोसम्म कुटोकोदाली, हँसिया नचिन्ने मानिसले पनि आज खेतीको काम थालेका छन् ।
विगतमा दैनिक रुपमा बजारबाटै किनेर खाउँला भन्ने कतिपय मानिसकोे मानसिकतालाई आज कोरोेनाले बदलिदिएको उनले बताए । अहिले रोपे केही महिनामा फलेर खान पाइन्छ भनेर कोदाली बोकेर हिँड्ने बढेको उनले बताए । यो समयमा मकैँ भटमास, चिउरा, पुवा, रोटी, गुन्द्रुकको अचार आदिजस्ता पहिलेका खाजामा मानिसको रुची दिनानुदिन बढेको उनले बताए ।
उनले भने, ‘एकातिर पसलमा कति कुरा आएका छैनन् अर्कातिर पाइन्छ कि पाइँदैन भनेर आफैँ बनाएर खानेहरु बढेका छन् । पहिले पहिले मानिस व्यक्तिवादी बन्दै गए पनि कोभिड–१९ को त्रासका कारण मानिसमा परिवार चाहिन्छ भन्ने भावना पलाएको यहाँका ज्येष्ठ नागरिकले बताएका छन् । शिक्षित मानिसले खेती किसानी गर्नु हुँदैन भन्नेमा समेत परिवर्तन आएको छ । बजारका खाद्यान्नभन्दा अधिकांश घरमै खाना बनाएर खान लागेका छन् ।
काँठ क्षेत्रमा दिनभर यसै कुनै काम नगरी बस्दा दिन काट्न गाह्रो हुने भन्दै जङ्गलमा जाने पनि बढेका छन् । दीर्घरोगीहरु मुख्य सडकमा हिँड्न नपाइने भन्दै जङ्गलमा हावा खान जाने गरेका छन् । अहिले काफल र लालीगुराँसको समय भएकाले त्यो टिप्न र वनमा पाइने जडीबुटी टिप्न पनि परिवारका सदस्यहरु जङ्गल गएको पाइन्छ ।
लकडाउनको अवधिमा आमाको मुख हेर्ने औँशी र चैते दशैँलगायतका चाडपर्व परेका थिए । सार्वजनिक बिदा नहुने भएकाले विगतका वर्षहरुमा कम महत्व पाउने यी पर्वसमेत धेरैले परिवारसँग मनाए । नेपाल प्रहरीमा महिला हिंसाका घटना कम भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार श्रीमान् श्रीमती दुवै वा एकजना बाहिर हुँदा आशङ्काका कारण झगडा हुने गरेकामा लकडाउनमा सँगै हुँदा यी समस्या कम आएका छन् ।
नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले लकडाउन जारी राख्दा काँठका कतिपय स्थान र नागरिकबाट यसको उल्लङ्घन भइरहेको पनि देखिन्छ । यस क्षेत्रमा अत्यावश्यकबाहेकका पसलसमेत खुल्नाका साथै मानिसहरु समूहमा जम्मा भएको चिया पसल र चौतारीमा देख्न सकिन्छ । दशैँ, तिहारलगायतका चाडपर्वको समयमा जस्तै युवा जम्मा हुने तास खेल्ने वा गफ गरेर समय बिताउने गरेको पाइन्छ । कतिपय भने साथी भेट्न वा आफन्तकहाँ जान भन्दै दिनभर हिँडिरहेको पनि देखिन्छ ।
प्रहरीको उपस्थिति कम भएकाले पनि यस क्षेत्रमा घरभित्रै बस्ने भन्ने पालना नभएको पाइन्छ । उपत्यकाका तीन जिल्लामा नै भीडभाड पहिलेभन्दा कम भए पनि भीडभाड गर्नु हुँदैन भन्ने नागरिकले नबुझेको पाइएको छ ।
कतिपयले भने शहरी क्षेत्रमा जस्तो भीड नहुने र बाहिरबाट कोही आउनासाथ जानकारी हुने भएकाले पनि यहाँ बाहिर निस्कन जोखिम नभएको बताउँछन् । खाद्यान्नको पसलसँगै चिया पसल, खाजा घरजस्ता पसलसमेत यो समयमा खुलेको देखिन्छ । रासस