काठमाडौं : ललितपुरमा जिल्लामा आज बिहान ४ बजेदेखि कर्फ्यु जारी भएको हुँदा कर्फ्यु उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले गोली हान्न सक्ने आदेश छ ।
ललितपुर पुल्चोकमा स्थानीयबासीले निषेधाज्ञा उलंघन गरी मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि बिहान ४ बजेदेखि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु गरिएको ललितपुर प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी र स्थानीयबासी बीच झडप भएपछि अवस्था गम्भीर हुँदा कर्फ्यु आदेश जारी गरिएको हो ललितुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए । उनका अनुसार ललितपुर महानगरपालिका भित्र बल्खुदेखि चक्रपथ भित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।
कर्फ्यु आदेश जारी भएको क्षेत्रभित्र जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने कर्फ्यु उल्लंघन गर्ने र कर्फ्युको अवज्ञा गरी घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।