चोरीशिकार नियन्त्रण अभियान “खोला तर्यो लौरो बिर्स्यो”
बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित

अनुभूति
रमेश कुमार थापा

बर्दिया, भदौ २५ । करिब चार बर्षको अन्तराल पछि प्रकृतिपुजक एवं संरक्षणप्रेमीहरुको मनमा चोट पुग्ने खालको समाचार बाहिर आएको छ । हालै चितवन राष्ट्रिय निकुञ्जको लौखानी पारि रातोपानी घोलमा गोली लागेर मरेको अवस्थामा एउटा गैंडाको सब फेला परेको छ । मृत गैंडाको शरीरमा गोली फेला नपरेको तर टाउकोमा गोली लागेको दुइवटा प्वाल फेला देखिएको र आसपासको क्षेत्रमा मानवीय हरकत समेत देखिएकोले चोरीशिकारीबाट नै गैंडा मारिएको आशङ्का गरिएको छ । गैंडालाइ गोली हानेर मारेको भएता पनि खाग, खुर लगायतका सरकारी सामान दुरुस्त अवस्थामा फेला परेका छन । चार बर्ष यता प्राकृतिक मृत्यु र दुर्घटनामा परी धेरै नै गैंडा मरेको भएता पनि चोरीशिकारीबाट गैंडा मारिएको थिएन । सिङ्गो देश र निकुञ्ज प्रशासन समेत कोरोनाका बिरुध्द जुधिरहेको मौका छोपेर चोरीशिकारीहरुले आफ्नो अपराधिक गतिबिधि शुरु गरेको हुनसक्ने देखिन्छ । तर गोली हानेर गैंडा मरिसकेपछि खाग, खुर लगायतका सरकारी सामान दुरुस्त अवस्थामा भेटिनुले गैंडा मारीनुको उद्देश्य प्रष्ट हुन सकेको छैन । चोरीशिकारीले गैंडा मारेर खाग तस्करी गर्ने मनशायले गैंडालाई गोली हानेको हो वा संरक्षण कार्यलाई चुनौति दिने र संरक्षणकर्मीलाई अशफल बनाउने नियतले यो घटना घटाएको हो भन्ने बारे शुक्ष्म अनुसन्धान हुन जरुरी छ । तर पनि चोरीशिकारीले टाउको उठाएर संरक्षणकर्मीलाइ ललकारेको चाहि निश्चित हो । अब संरक्षणकर्मी पनि त्यहि हिसाबको तयारी गरेर अपराधको समूल अन्य गर्नका लागि जुटन ढिलाइ गर्नुहुन्न ।
चितवन राष्ट्रिय निकुञ्जले बिगतमा गैडा चोरीशिकार र खाग तस्करीमा संलग्न सामान्य देखि अति बिशिष्ठ घरानाका अपराधिहरुलाइ पक्राउ गरी कारबाहि गरेको थियो । ती अपराधिहरु मध्ये धेरै आफ्नो सजाय भुक्तान गरी बाहिर निस्किसकेका छन । कैद मुक्त भएका मानिसहरु कहाँ कहाँ छन र के कस्तो चालचलन गरिरहेका छन भन्ने बारे कुनै निकायले जानकारी राखेको जस्तो लाग्दैन । कतिपय मानिसहरु बिगतको आफ्नो कुकर्म प्रति पश्च्यताप गरेर सुध्रेका पनि होलान । तर कतिपय मानिसहरु नानी देखि लागेको बानी छोड्न नसकेर पुनः गैंडा मार्ने र तस्करी गर्ने पेशामा फर्केका पनि हुनसक्छन । जंगलमा पसेर गैंडा मारी खाग काटेर तस्करको हात सम्म पुर्याउने स्थानीय चोरीशिकारी र अन्तराष्ट्रिय बजार सम्म खाग पुर्याउने हैशियत राख्ने तस्करहरु एउटै कारागारमा रहँदा उनीहरुले अनेकौं तानाबाना पनि बुनेका हुनसक्छन । अर्को कुरा ऐले कोरोनाका कारण धेरै मानिसको रोजगारी गुमेको छ, धेरैको ब्यापार ब्यवशाय डुबेको छ, आम्दानीको बाटो बन्द हुँदा आर्थिक अवस्था डाँवाडोल भएको छ । घरमा चुलो बल्न सकेको छैन । दैनिकि गुजारा चलाउन नसक्ने अवस्था सृजना भएको छ । त्यसैले मर्नु भन्दा बहुलाउनु निको भन्ने सोचेर गैंडा मार्ने कर्तुतमा लाग्ने सम्भावना पनि रहन्छ । बिगतका घटनाहरु हेर्दा तस्करहरुले गैंडालाइ गोली हानेर गैंडा नमर्दै खाग काटेर लगेको पनि देखिएको छ । तर यसपालि गैंडा मरिसकेपछि पनि खाग, खुर यथावत रहेको अवस्था छ । यसको कारण कि त गोली हान्ने ब्यक्ति जेलको कठोरा यात्रा पुरा गर्ने क्रममा उसको आत्मबल क्षीण भै खाग काट्ने आँट गर्न नसकेको हुनु पर्दछ या त बिल्कुलै नया शिकारी हुनसक्ने अनुमान पनि गर्न सकिन्छ । तर पनि यसको शुक्ष्म र गहन अध्ययन, अनुसन्धान नगरी हचुवाको भरमा यसै भन्न सकिने अवस्था छैन ।
चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा मौलाएको गैंडाको चोरीशिकार नियन्त्रणमा लिन धेरै ठूलो समर्पण पछि मात्र सम्भव भएको हो । आज सम्झिदा पनि आङ्गनै जिरिङ्ग हुन्छ त्यतिबेलाको अवस्था । हरेक दिन शिकारीले गैंडा मारेर खाग लगेका समाचार आउँथे । हामी साँझ, बिहान, दिन रात सधैं गस्तीमै हुन्थ्यौं तर न शिकारी समाउन सकिन्थ्यो न गैंडा मारिने क्रम रोकिन्थ्यो । त्यस्तो बिकराल अवस्थालाइ काबुमा ल्याएर गैंडाको सून्य चोरीशिकार बर्ष मनाउनु चानेचुने कुरा थिएन । तर गरेपछि हुँदोरहेछ भन्ने एउटा नजिर पनि स्थापित गर्न सफल भएका हौं हामी । त्यो सफलतामा धेरै पक्षबीचको समन्वय र सहकार्यले काम गरेको थियो । चितवनकै कुरा गर्दा गैंडाको सून्य चोरीशिकार बर्ष सम्भव बनाउने निकुञ्ज भित्रको कोर टीम आज पनि मलाई सम्झना छ । नेपाली सेनाको गणपति प्रमुख सेनानी चक्र बहादुर शाह हुनुहुन्थ्यो । वहाँले पोष्ट नभएका संबेदनशिल क्षेत्रहरुमा रुखमा अस्थायी मचान बनाएर सुरक्षाकर्मी तैनाथ गर्नु भएको थियो । रातीको समयमा गाडीबाट, साइकिलबाट, हात्तीबाट थप गस्ति परिचालन हुन्थ्यो । सडक नबनेको र हात्ती समेत जान नसक्ने ठाउँमा पैदल गएर रातदिन ऐम्बुस राख्ने गरिन्थ्यो । गणपति रातभर आँफै गस्ति गरेर बिहान लखतरान परेर फर्किनुहुन्थ्यो । यता निकुञ्जमा प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरको नेतृत्वमा सहायक संरक्षण अधिकृत रुपक महर्जन, बिष्णु थपलिया, टीकाराम पौडेल, बेद बहादुर खड्का, बुध्दिराज पाठक र सिनियर गेमस्काउट (पछि रेञ्जर) लक्ष्मण रायको टोली अहोरात्र खटेको थियो । यस कार्यमा निकुञ्जका पशु चिकित्सकहरु, सवारी चालक र गेमस्काउट तथा हात्तीसार र प्रशासनिक कर्मचारीको अथक मेहनत खर्च भएको थियो । तर निकुञ्ज भित्रको यो चुस्त दुरुस्त एवं प्रभावकारी कदमका कारण मात्रै गैंडाको चोरीशिकार सून्य भएको होइन यसका अन्य पहलिया पनि रहेका छन । छोटकरीमा भन्नु पर्दा त्यतिबेलाको सफलतामा निम्न कुराहरु प्रमुख रहेका थिएः

१. समुदायमा आधारित चोरीशिकार नियन्त्रण इकाईको प्रभावकारी परिचालन ।
२. मजबुत सुराकी संजाल परिचालन ।
३. नेपाल प्रहरी, केन्द्रिय अनुसन्धान ब्यूरोसंगको सहकार्य ।
४. अन्तर निकाय समन्वय र जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्र इकाई परिचालन ।
५. मिडियाकर्मीसंगको समन्वय, सहकार्य र अन्तरसम्बन्ध ।
६.मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति र उपभोक्ता समितिहरुको कृयाशिलता ।
७. संरक्षणका साझेदार सस्थाहरुको निरन्तर सहयोग ।
८.पर्यटन ब्यवशायी र प्रकृति पथप्रदर्शकहरुको सूचना, सहयोग र सहकार्य ।
९.दक्ष, अनुभवि र समर्पित जनसक्तिको साथ र सहयोग ।
१०. मन्त्रालय र बिभागको नियमित अनुगमन, सुपरिवेक्षण, मार्गनिर्देशन र सहयोग ।

तर आजको अवस्था हेर्ने हो भने संरक्षणको काममा पहिलाको जुन समन्वय, सहकार्य, ऐक्यबध्दतामा बिस्तारै खिया पर्दै गएको जस्तो देखिन्छ । संरक्षित क्षेत्र एक्लै दौडिरहेको भान हुन थालेको छ । हिजोका सहयात्री र सहकर्मीसंगको साथ क्रमशः टाढिंदै गएको आभास हुन्छ । एकदुइ पटक सून्य शिकार बर्ष मनाएपछि अब सधैंका लागि चोरीशिकार अन्त्य भएको भन्ने भ्रम वा एक किसिमको मात चढेर एक्लै यात्रा तय गर्न खोजिएको त हैन ? भन्ने प्रश्न पनि उठ्न थालेका छन । नराम्रो शब्दमा भन्नुपर्दा “खोला तर्यो लौरो बिर्सियो” भन्ने तरिकाले अगाडी बढ्न खोजेको देखिन्छ । तर संरक्षणको काममा यसरी एक्लै एकपाइला पनि अगाडी बढ्न सकिंदैन र बढिहाले पनि यस्तै यस्तै चुनौतीले बाटो अबरोध गरिदिन्छन । आज फर्केर हेर्दा समुदायमा आधारित चोरीशिकार नियन्त्र इकाईहरु बेवारिसे र निरिह अवस्थामा छन । हिजोको सुराकी सञ्जाल छिन्न भिन्न अवस्थामा छ । केन्द्रिय अनुसन्धान ब्यूरोसंगको सहकार्यमा बिगतको जस्तो घनिष्ठता र सौहार्दता देखिएको छैन । मिडियाकर्मीसंगको समन्वय र सहकार्यको शिलसिला त्यति शुमधुर देखिंदैन । बिगतमा कारबाहिमा परेका र फरार अपराधिको गतिबिधि अनुगमनमा खासै ध्यान पुग्न सकेको देखिंदैन । पुराना, दक्ष, अनुभवि कर्मचारीहरु सेवा निबृत्त भैसकेका छन । नया नियुक्ति भएर आएका कर्मचारीलाई सामान्य अभिमुखिकरण तालिम सम्म पनि नदिइकनै काममा खटाइएको छ । बन्दुक चलाउनै नजान्ने सिपाही हजारौंको संख्यामा भए पनि बन्दुक चलाउन जान्ने एक्लैले पराजित गर्न सक्ने भएकोले सरकारले आफ्नो जनसक्तिलाइ दक्ष, सक्षम, सबल र स्रोतसाधनयुक्त बनाईराख्नु जरुरी छ । दुश्मनले रातोपानी घोलबाट चुनौति दिइसकेको परिप्रेक्षमा एकक्षण पनि चुप लागेर बस्ने हो भने यसले अभिव्याप्ति रुप लिन सक्ने खतरा छ । त्यसैले हिजो जस्तै प्रभावकारी रणनीति, योजना, कार्यशैलि, ब्यवहार, कृयाकलाप, समन्वय र सहकार्यलाई अगाडी बढाऔं । । रातोपानी घटनालाई चोरीशिकारीको अन्तिम कुचेष्टामा सिमित राखौं । भविश्यमा कुनै पनि सहयात्रीले “खोला तर्यो लौरो बिर्स्यो” भन्ने गुनासो गर्ने नपर्ने गरी हातेमालो गरौं । जय संरक्षण ।

प्रतिक्रिया

सम्बन्धित खवर