बर्दिया, बैशाख ९ (फरकसमाचार)
कोरोना संक्रमण बढेसंगै गुलरियामा चरम लापरवाही देखिएको छ । बैशाख ५ गते जिल्ला विपद व्यवस्थापन समितिको बैठकले हाट बजार, खेलकुद, मेला पर्व, आमसभा जस्ता भिडभाड गराउने कार्यमा रोक लगाएको थियो । कोभिड–१९ को जोखिम कम गर्न प्रशासनले भिडभाड नगर्न अनुरोध गरेपनि जताजतै भिडभाड भएको देखिन्छ । मास्क प्रयोग नगरी बजारमा सर्वसाधारण भौतारी रहेको देख्न सकिन्छ । त्यसैगरी हाट बजार नलाग्ने निर्णय गरिएपनि मंगलबार हाट बजार लागेको थियो । स्थलगत रिपोटिंङ्गको क्रममा हाट बजार पुगेका फरकसमाचार संवाददाताले सामाजिक दुरीको बेवास्ता गर्दै किनमेल गरेको तस्विर क्यामेरामा कैद गरे । किनमेल गर्ने प्रायले मास्क लगाएका थिएनन् ।
जिल्ला विपद व्यवस्थापन समितिको निर्णयलाई नमानेर हाट बजार लाग्दा प्रशासनको अनुगमन नभएको देखियो । बर्दिया जिल्लाको छिमेकी जिल्ला बाँकेमा दिनहु बढ्दै गएको संक्रमण दरका कारण बैशाख ९ गतेदेखि बैशाख १५ गतेसम्म लकडाउन गरिएको छ । बर्दिया जिल्लामा पनि यस्तै लापरवाही भईरहे संक्रमणको भयावह स्थिती नआउला भन्न सकिदैन । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ४२ पुगेको छ, जसमा १ हजार ५ सय ३३ जना निको भएका छन् । त्यसैगरी १ सय ५२ जनामा भाइरस संक्रिय रहेको छ भने २३ जनाको कोरोना संक्रमणले मृत्यु भईसकेको छ । त्यसैगरी बुधबार थप २० जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म १४ हजार ७ सय ९८ जनाको पिसिआर परीक्षण गरिएको छ । सक्रिय संक्रमितहरु होम आइसोलेसनमा छन् । महामारीको जोखिम कम गर्न हामी सबैले स्वास्थ्यका मापदण्डको पालना गर्नु पर्छ ।
अत्यावश्यक कामका लागि बाहेक घर बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई पटक पटक आग्रह गरिरहेको छ । निस्कनै पर्ने अवस्थामा स्वास्थ्यका मापदण्डको पुर्ण रुपले पालना गरी निस्कन अनुरोध गरेको छ ।