गुलरियामा कोभिडको रिफरसेन्टर बनाउने मन्त्री विकको प्रतिबद्धता
बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख १५ (फरकसमाचार)

बढ्दो कोरोना कहरमा गुलरियामा कोभिड अस्पताल संचालनमा ल्याएर रिफरसेन्टर बनाउनु पर्ने उद्योग तथा वाणिज्य आपुर्ती मन्त्री विमला बिकले बताएकी छन् ।

स्थानीयतहले कोरोना आईशोलेसन शैया निर्माण गरेको भन्दै सदरमुकाम गुलरियामा कोभिड संक्रमित विश्वस्त हुने खाले रिफरसेन्टर बनाउनु पर्ने आवश्यकता रहेको उनले औल्याईन । बाहिरका विरामीलाई समेत रिफरसेन्टरमा आएपछि लाभान्वित हुन सक्ने उदेश्यका साथ कोभिड अस्पताल तयारी थाल्न पर्ने उनको भनाई छ ।

मंगलवार जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य बिज्ञ, सुरक्षा प्रमुख र सरोकारवालासँग छलफल पछि कोभिड अस्पताललाई प्राथमिकता राखेर अघि बढाउनु पर्ने कुरा मन्त्री विकले जोड दिएकि थिईन् ।

जिल्लाको शान्ती सुरक्षा, सीमा सुरक्षा, अन्तर जिल्ला आवागमनका गतिबिधिको बारेमा मन्त्री बिकले चासो राख्दै सुरक्षा संयन्त्रले जिल्लालाई सुरक्षित र कोभिड संक्रामक रोग नियन्त्रणका लागि प्रभावकारी भूमिका निभाउन निर्देशन दिएकि छन् ।
जिल्लाको वस्तुस्थिती जस्तै आईशोलेशन निर्माण, अक्सिजन अवस्था र गम्भीर कोरोना संक्रमितको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी शन्त बहादुर सुनारले जानकारी गराए ।

स्थानीय तहले कहाँ, कति र कसरी संक्रमितको व्यबस्थापन गरेको र कोभिड नियन्त्रणमा स्थानीय तहले निभाएको भूमिकाको बारेमा मन्त्री बिकको जिज्ञाशा मेटाएका थिए ।
प्रजिअले अक्सिजन सहितको कोभिड अस्पताल सदरमुकाममा नभएकाले होम आईशोलेशन र भेरी अञ्चल अस्पतालमा बिरामी रेफर गरेको बताए ।

बर्दिया जिल्ला अस्पताल बरिष्ठ डाक्टर बिजय उपाध्यायले कोभिडको बिरामी उल्लेख्य रहेको जानकारी दिदै कोभिड वार्ड नहुँदा सम्पुर्ण सेवा अस्तव्यस्त हुने चरणमा रहेको बताए ।

‘अस्पतालको ईमेरजेन्सीको सेवाका लागि अधिकांश बिरामी चेक जाँच गर्दा ७० प्रतिशत कोभिड संक्रमित फेला पर्छन्’उनले भने,‘कोभिड अस्पताल नहुँदा होम आईशोलेसन काउन्सेलिङ गरेर घर फिर्ता गर्न बाध्य छौ,कडा संक्रमितलाई भेरीमा रिफर गरिएको छ ।’

यस्तै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले स्थानीय तहले एन्टिजेन चेक जाँचलाई तिब्र पारेको बताएका थिए । ‘कन्ट्याक्ट ट्रेसिङ आधार सिमित स्रोत साधनबाट सम्भव छैन’उनले भने,‘लक्षण देखिएको आधारमा गर्दा ५० प्रतिशत भन्दा बढि संक्रमितलाई कोरोना पुष्टि भएको छ ।’चैत दोस्रो हप्ता चार जनामा देखिएको कोरोना संक्रमण करिब चार सयको हाराहारीमा पुग्न थालेको छ । उनका अनुसार मंगलवारसम्म २७ जना संक्रमितको ज्यान गएको छ ।

नेपाल भारतको सीमामा आवागमन ठप्प भएको नेपाल प्रहरीका एसपि ईश्वर कार्कीले बताए । निषेधाज्ञा जस्तो नभएपनि शहरी क्षेत्र आवागमन गर्नेलाई प्रहरी सोधपुछ बढाएको मन्त्रीलाई जानकारी गराएका थिए । छलफल पछि रिफरसेन्टरको आवश्यकता रहेको उल्लेख गर्दै गुलरिया कोभिड अस्पतालका लागि भौतिक पूर्बाधार, मेशनरी, अक्सिजन आवश्यक्ता औल्याएर जिल्ला प्रशासनलाई पत्राचार गर्न उनले निर्देशन दिईन । ‘मैले जे जति सक्छु गर्छु’उनले प्रजिअ सुनारलाई निर्देशन दिदै भनिन्,‘पत्राचार गर्नुस, तत्काल कोभिड अस्पताल संचालन हुन्छ ।’

जिल्लामा स्थानीय तहले अक्सिजन सहितको आईशोलेशन निर्माण गरेर बिरामीको सेवामा तल्लिन रहेको भन्दै मन्त्रीले अझै परिस्कृत गरेर जिल्ला बासीको जिउको सुरक्षा गर्न स्थानीय तहले समन्वय र व्यबस्थापन अघि बढाउनु पर्ने उनले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर