रिसोर्टमा कामदार मृत भेटिए
आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित

खोटाङको त्रि–धार्मिकस्थल हलेसीस्थित जाम्बाला रिसोर्टका कामदार मृत भेटिएका छन् । धादिङ नीलकण्ठ नगरपालिका–६ सुनौलो बजारका अन्दाजी ४४ वर्षीय एकबहादुर मल्ल ठकुरी मृत फेला परेका हुन् । शनिबार दिउँसो खाजा खाएर कामदार सुत्ने रिसोर्टकै कोठामा आराम गर्न गएका ठकुरी बेलुका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए ।

गत वैशाख १ गते मात्र हलेसीमा आएका ठकुरी बेलुकाको खाना खान नआएपछि हेर्न जाँदा मृत फेला परेको जनाइएको छ । मोबाईलको कल डिटेल्समा ठकुरीले बेलुका ६ बजे आफन्तसँग कुराकानी गरेको पाइएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । आफन्त आएपछि मात्र ठकुरीको शव उठाउने तयारी भइरहेको छ । कोभिड–१९ को कारण लागू गरिएको निषेधाज्ञाका बीचमा विभिन्न जिल्लाका प्रशासन र प्रहरीलाई समन्वय गरेर मृतको आफन्तलाई हलेसी पुग्ने वातावरण मिलाइएको प्रहरी निरीक्षक शाहले बताए ।

पोष्टमार्टमपछि मात्र ठकुरीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । ‘आफन्त आएपछि मात्र शव उठाइन्छ,’ शाहले भने, ‘आफन्त चढेका गाडीलाई नरोक्नका लागि सम्वन्धित जिल्लाका प्रशासन र सुरक्षा निकायलाई समन्वय गरेका छौँ ।’साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर