अक्सिजन खोज्न हारगुहार
शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

कि त अक्सिजन ल्याउनुस्, नत्र बिरामी अन्यत्र अस्पतालमा लैजानुस् भन्नुपर्ने अवस्था आयो, अक्सिजन अभावमा आँखैअघि बिरामीको मृत्यु भएको कसरी हेर्नु ?’

भक्तपुर — मौज्दात अक्सिजन सिलिन्डर सकिएपछि मंगलबार राति भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. सुमित्रा गौतमले उपचाररत संक्रमितका आफन्तलाई आफैं अक्सिजन जोहो गर्न भनिन् ।‘कि त अक्सिजन ल्याउनुस्, नत्र बिरामी अन्यत्र अस्पतालमा लैजानुस् भन्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘अक्सिजन अभावमा आँखैअघि बिरामीको मृत्यु भएको कसरी हेर्नु ?’

त्यसपछि उनले महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख तारादेवी थापालाई अक्सिजन खोजिदिन आग्रह गरिन् । थापाले ललितपुर प्रहरी प्रमुख किरण वज्राचार्यलाई गुहारिन् र १३ सिलिन्डर उपलब्ध भयो । ‘त्यति अक्सिजन नभएको भए, धेरैको ज्यान जाने थियो,’ उनले भनिन् ।

७१ संक्रमित उपचाररत यो अस्पतालकी मेसु डा. गौतम अझै पनि अक्सिजन जुटाइदिन सामाजिक सञ्जालमा आग्रह गरिरहेकी छन् । जिल्ला प्रशासन, महानगरीय प्रहरी परिसर भक्तपुर, कलकारखाना, अक्सिजन प्लान्टहरूमा पनि कुदिरहेकी छन् ।

‘आँखैअघि एक–एक सासका लागि तड्पिएको बिरामी देख्दा साह्रै मन रुन्छ,’ उनले भनिन्, ‘हामी चिकित्सक आफैंले अक्सिजन उत्पादन गर्न सक्दैनौं, रातदिन अक्सिजनका लागि हारगुहार गरिरहेकै छौं ।’

अस्पतालमा संक्रमितका लागि दिनमा १५० जति सिलिन्डर अक्सिजन आवश्यक पर्छ । आईसीयूका बिरामीलाई मात्र ४० सिलिन्डर चाहिने उनी बताउँछिन् । ‘तर अस्पतालका लागि ५० सिलिन्डर मात्रै तोकिएको छ,’ उनले भनिन्, ‘त्यसका लागि पनि रातदिन लाइन लाग्नुपर्छ ।’ अस्पतालले अक्सिजन भर्न ४० सिलिन्डर जनकपुर पठाए पनि ल्याउन नसकिएको उनको भनाइ छ । आफैं संक्रमित भएर सेवामा खटिँदा पनि बिरामीलाई सन्तुष्ट पार्न नसकिएकामा उनलाई दुःख लाग्छ ।

अस्पतालका जनरल फिजिसियन डा. सुनील ढुंगेल पनि संक्रमित छन् । मध्यम खालको लक्षण रहे पनि उनी सेवामा खटिन छोडेका छैनन् । ‘डा. ढुंगेल अस्पतालको कोरोना वार्डको फोकल पर्सन हो, उहाँ नहुने हो भने संक्रमित बिरामीको उपचार सम्भव छैन,’ डा. गौतमले भनिन्, ‘धेरैपल्ट बिरामी हुँदै, सञ्चो हुँदै सेवा गरिरहनुभएको छ । आफैं सिलिन्डर बोक्न पनि दौडनु हुन्छ ।’ अस्पतालका अन्य ११ स्वास्थ्यकर्मीलाई पनि संक्रमण छ । यद्यपि आलोपालो गर्दै सबै जना उपचारमा खटिएका छन् ।

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका चिकित्सक तथा जनप्रतिनिधि पनि अक्सिजन जुटाउने कसरतमा छन् । ४३ संक्रमित उपचाररत अस्पतालमा दैनिक ७५ सिलिन्डर अक्सिजन आवश्यक पर्छ । यसका लागि नगर प्रहरी र नगर स्वयंसेवक रातदिन धाइरहेको अस्पतालका प्रशासकीय अधिकृत रूपेश श्रेष्ठले बताए ।

भक्तपुरका अधिकांश अस्पतालका सञ्चालक, व्यवस्थापक तथा चिकित्सकहरू अक्सिजनका लागि प्लान्टहरूमा धाइरहेको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए । अक्सिजन अभाव भएको भन्दै अस्पतालहरूले संक्रमितको भर्ना लिन छोडेका छन् ।साभार कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर