राम प्रसाद चौहान
बर्दिया, साउन १४
बर्दिया अस्पतालको ईमेरजेन्सी वार्डमा बिरामीको चाप बढ्दै गएको छ । एउटै बेडमा २ जना बिरामी राखेर उपचार गर्दैको तस्विर मंगलबार सामाजिक संजालमा पोष्ट भयो । सामाजिक संजालमा पोष्ट गरिएको तस्विरले व्यापक रुपमा चर्चा पायो । फेसबुक वालको कमेन्टमा ईमेरजेन्सी वार्डमा बेडको संख्या बढाउनु पर्ने धेरैले प्रतिक्रिया दिएका छन् ।
केही दिन यता ईमेरजेन्सी वार्डमा बिरामीको चाप बढ्दै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले बताए । ५० बेडको अस्पतालमा १० प्रतिशत ईमेरजेन्सी वार्डमा बेड राख्नुपर्ने प्रावधान छ । ईमेरजेन्सीमा १० प्रतिशतले ५ वटा बेड राख्नु पर्ने तर ठाउँ भए अनुसार हामीले ७ वटा बेड राखेको पाण्डेले बताए ।
ईमेरजेन्सी वार्डमा उपलब्ध बेड संख्या भन्दा बढी बिरामी एकै पटक आउँदा दुई जना राख्नु प¥यो । सिजनल फ्लुले गर्दा रुघा खोकीका बिरामी बढेको बताए । हामी कहाँ औषधी उपलब्ध हुँदा हुँदै अन्तै रिफर गरेर बिरामीलाई किन दुख दिने भनेर दुई जना राखी उपचार गरेको पाण्डेले बताए ।
अस्पतालमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएका बिरामीहरुको स्वाब पिसिआर गर्न पठाईरहेको बताए । अस्पतालमा हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिरहेको पाण्डेले बताएका छन् ।