बर्दिया अस्पतालमा अक्सिजन प्लान्ट जडान
राम प्रसाद चौहान
बर्दिया, साउन २५
संघिय सरकारको सहयोगमा बर्दिया अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी प्रारम्भिक उत्पादन सुरु भएपनि जनशक्ति अभाव कायमै छ । जनशक्ति अभाव र बिद्युत कटौतीले अक्सिजन उत्पादनका लागि अबरोध सिर्जना गर्ने छ । जिल्ला अस्पताललाई लोडसेडिङ्ग मुक्त गर्नु पर्ने देखिन्छ । झ्याप झ्याप हुने बिद्युत कटौतीले अक्सिजन उत्पादनमा समस्या आउने निश्चित छ ।
सरोकार वालासँग प्राथामिकतासाथ बिद्युत कटौती समाधान गर्न अस्पताल प्रशासनले जोडदार माग गरेको छ । संघिय सरकारले गत जेठ महिनामा अक्सिजन प्लान्ट जडानको लागि डेढ करोड रकम विनियोजन गरेको थियो । उक्त रकमले जडान भएको प्लान्टले अक्सिजन उत्पादन शुरु गरेको हो ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्येका जिल्ला अस्पतालहरुमा पहिलो पटक बर्दिया अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको हो । पुर्व उद्योग तथा वाणिज्य आपुर्ती राज्य मन्त्री बिमला विक र प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले आइतबार प्लान्टको अवलोकन गरेका छन् ।
संघिय सरकारले अक्सिजन प्लान्टको लागि अस्पताललाई रकम विनियोजन गरे लगतै ईबिट मार्फत टेन्डर आह्वान गरी प्लान्ट खरिद गरी प्लान्ट जडानको कार्य सम्पन्न भएको मेसु सुभाष पाण्डेले बताए ।
डेढ करोड मध्ये ८१ लाख ९० हजार भ्याट बाहेक अक्सिजन प्लान्ट खरिदमा, ४५ लाख बराबर अक्सिजन पाईप खरिद जडान र १८ लाख लागतमा अक्सिजन प्लान्ट राख्न भवन निर्माणको कार्यमा खर्च भएको मेसु पाण्डेले बताए । अक्सिजन प्लान्ट प्राविधि ईन्टरनेशनल काठमाण्डौंले जडान गरेको हो ।
अक्सिजन प्लान्टको २४ घण्टामा ७० देखि ७५ वटासम्म ठुलो सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ । प्लान्टले वायु मण्डलमा रहेको अक्सिजनलाई फिल्टर गरेर शुद्ध अक्सिजन बनाउँछ । अक्सिजन प्लान्ट संचालन गर्न लगातार विद्युत आवश्यक पर्छ । झ्याप झ्याप हुने बिद्युत कटौतीले प्लान्ट संचालनमा चुनौती रहेको छ ।
प्लान्ट संचालन गर्न तत्काल १ सय केभिएको जेनेरेटरको आवश्यक रहेका मेसु पाण्डेले बताए । अक्सिजन प्लान्टलाई पुर्ण रुपले संचालन गर्नको लागि प्लान्ट चलाउन एक जना दक्ष ईलेक्ट्रेसियन, १ सय केभिएको एउटा जेनेरेटर, जेनेरेटरलाई चाहिने डिजल र विजुली खपत वापत वार्षिक १० लाख र प्लान्ट मर्मत वापत वार्षिक ५ लाख आवश्यक पर्ने उनले औल्याए ।
जसको व्यवस्था सबै सम्बन्धित निकायले जुटाउन समेत आग्रह गरे । हामीले पुर्ण रुपमा अक्सिजन प्लान्ट संचालन गर्न सकिम भने हाम्रो जिल्ला भरीलाई अक्सिजनको अभाव हुदैन र हामीले अरु जिल्लालाई पनि दिन सक्ने उनले जानकारी गराए ।
अक्सिजन प्लान्ट जडानको कार्य सम्पन्न भई प्रारम्भिक उत्पादन शुरु भएको उनले बताए । उनका अनुसार १० प्वाईन्ट आईसियु र ४० प्वाईन्ट जेनेरल वार्डमा अक्सिजन पाईप लाईन जडान भईसकेको छ ।
त्यसैगरी जिल्ला समन्वय समितिको डेढ करोड र ८ वटै पालिकाको १०÷१० लाख सहयोगमा एचडियु÷आईसियु भवन निर्माणको कार्य ९५ प्रतिशत सम्पन्न भएको बताए । जसको नेतृत्व गुलरिया नगरपालिकाले गरेको छ ।
२५ बेडको एचडियु भवन निर्माणको कार्य अन्तिम चरण रहेको मेसु पाण्डेले बताए । उनका अनुसार संघिय र प्रदेश सरकारको सहयोगमा एचडियुलाई आवश्यक पर्ने बेडसहित सम्पुर्ण सामानहरु बर्दिया अस्पतालले खरिद गरिसकेको छ । एचडियुलाई चाहिने विषेशज्ञ डाक्टर, नर्स र कार्यालय सहयोगीसम्मका जनशाक्तिको अभाव रहेको बताए । केही दिन देखि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ ।
गत आर्थिक वर्षदेखि हालसम्म तीन जना मेडिकल अधिकृतहरु सरुवा भएर गएको तर वहाँहरुको ठाउँमा दरबन्दी नआएकोले बिरामीको चाप थेग्न गाह्रो भईरहेको मेसु पाण्डेले बताए ।