दलबहादुर सुनार
बर्दिया, पुस १२
जिल्ला फुटबल संघको आयोजनामा मयुर युवा क्लबको खेल मैदानमा शुरु भएको फुटबल लिग प्रतियोगिताको दोस्रो दिनको खेलमा मयुर र माछापुच्छे्र युवा क्लब बिजयी भएका छन् । मयूर युवा क्लबले जय दुर्गा भवानीलाई दुई गोलका बिरुद्ध चार गोल प्रहार गरेको छ । आईतबार भएको दोस्रो खेलमा गुलरियाका कृष्णसार युवा क्लबलाई बढैयातालको युवा क्लबले १ बिरुद्ध २ गोल प्रहार गरेको छ । प्रतियोगिताको पहिलो दिन मधुवनको ताराताल युवा क्लब र गेरुवाको नब युवा मैत्रीभाब एकता समाज बिच भएको खेलमा दुबै टिमले एक एक गोल गरि बराबर भएका थिए ।
लिग प्रतियोगिता पुस २४ गतेसम्म चल्नेछ । जिल्ला फुटबल लिग प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५५ हजार र दोस्रो हुने टिमलाई रु ३० हजार नगद पुरस्कार दिने जिल्ला फुटबल संघका अध्यक्ष अजितराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई प्रदेश स्तरको खेलमा सहभागि गराईने छ । प्रतियोगितामा ३ लाख खर्च गर्ने योजना रहेको जिल्ला फुटबल संघका महासचिव जगत तामाङ्गले जानकारी दिए ।
लिग फुटबल प्रतियोगिताका बढैयाताल गाउँपालिका–८ का वडा अध्यक्ष सुन्दर मान श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम संयोजक राम बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको हो । जिल्ला फुटबल संघ बर्दियाको आयोजना र स्थानिय मयुर युवा क्लब बढैयातालको समन्वयमा बर्दिया जिल्ला फुटबल लिग प्रतियोगिता आयोजना भएको हो ।
बढैयातालका बिद्या ज्योती नमुना मा.बि. कण्ठपुर, भगवती संस्ककृत तथा साधारण माबि. तिलकाना, जय कालिका माबि, मुनालबस्ती, शुभकामना एकेडेमी, रिभर क्विन्स र बर्दिया एकेडेमी प्रायोजक रहेका छन् । बर्दिया जिल्लाका फुटबल खेलाडीहरुलाई अगाडि बढाउनको लागि जिल्ला फुटबल संघ बर्दियाले फुटबल लिग प्रतियोगिताको आयोजना गरेको छ ।
यसले बर्दिया जिल्लाबाट राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन हुने विश्वास फुटबल संघले लिएको छ । जिल्ला फुटबल संघसंग आबद्ध जिल्लाका १२ वटा क्लबले यस प्रतियोगितामा सहभागिता जनाएका छन् ।