‘नगरको फोहोर व्यबस्थापनले सार्थकता पाउँछ’
बिहिबार, माघ २७, २०७८ मा प्रकाशित

बर्दिया, माघ २७(फरकसमाचार)

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवको निर्देशनमा नगरपालिका भित्रको अव्यबस्थित फोहोर व्यबस्थापन गर्न सरसफाई कर्मचारी खटिने भएका छन् । फोहोर व्यबस्थापनको जिम्मा लिएको ठकेदार कम्पनीले ठेक्का तोडेपछि नगरपालिकाले क्लीन गुलरिया नगरि अभियानलाई आत्म साथ गर्दै फोहोरलाई मोहोर बनाउँने योजना अख्तियार गरेको छ ।

गुलरिया नगरपालिकाले जिम्मा दिएको निजी क्षेत्रले फाहोर उठाउँन असफल भएपछि क्लीन गुलरिया बनाउँन नगरबासी दाजु भाई र सबै तह तप्काले सहयोग गरिदिन नगर प्रमुख यादवले अपिल गरेका छन् ।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटा, सब ईन्जिनियर अर्जुन लम्साल र स्टोर प्रमुख कपिल घिमिरेले बुधवार क्लीन गुलरिया अभियानमा सरिक सरसफाईकर्मीसँग लामो छलफल गरेका छन् । प्रत्येक सरसफाई कर्मचारीले गुलरियालाई क्लीन बनाउँने गरी जिम्मेवारी बाँडफाड समेत गरेको प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले बताए । ‘नगर सरसफाईलाई पुरस्कार र दण्डको मापदण्ड बनाएको छ’उनले भने,‘राम्रो काम गरेमा पुरस्कृत हुन्छ भने लापरबाही गर्नेले जागिरबाट हात धुन्छ ।’

सरसफाईकर्मीले आफ्नो जिम्मेवारी साथ काम गरे पुरस्कार र हेलचक्राई वा जिम्मेवारी पुरा नगरेमा दण्ड समेत दिने व्यबस्था नगरपालिकाले अख्तियार गरेको प्रमुख प्रशासकिय अधिकृत देवकोटाको भनाई छ । बिगतमा जस्तै गरी नगर सरसफाई हुने र थप जनशक्ति ल्याएर फोहोरलाई मोहोर बनाउँन नगरपालिकाले लक्ष्य लिएको सबईन्जिनियर अर्जुन लम्सालले बताए । ‘सरसफाई कम्पनीका सरसफाई कर्मचारी क्लीन गुलरिया अभियानमा सरिक गराएका छांै’उनले भने,‘फोहोर उठाउँने देखि सेरिगेसनका लागि सरसफाई कर्मचारीलाई जिम्मेवारी तोकिएको छ ।’

लामो समय देखि फोहोर व्यबस्थापनमा खटिएको ठेकेदार कम्पनीका कर्मचारीका कारण गुलरिया नगरमा फोहोर व्यबस्थापनमा कमजोरी भएको उल्लेख गर्दै अब क्लीन गुलरियाको अवधारणाले सार्थकता पाउँने नगर प्रमुख यादवले बताए ।
‘गुलरिया नगरपालिका फोहोर मुक्त बनाउँने नगरपालिका लागि पर्छ’उनले भने,‘यसमा साथ सहयोग सबैको चाहिन्छ, गुलरिया नगरपालिका सरसफाई हुन जरुरी छ ।’

कतिपय ठाउँमा फोहोर व्यबस्थापन गर्न नसकेको अवस्था स्थलगत अनुगमन गरेर चित्त दुखेपनि ठेक्का लागेको अवस्थामा केहि गर्न नसकेको प्रमुख यादवले खुलाए । ‘अव पहिला जस्तो फोहोर देख्नु हुन्न भन्ने विश्वास दिलाउँन चाहन्छु’उनले भने,‘ठेक्का तोडेर गुलरिया नगरपालिकाले सरसफाई अभियानलाई सार्थकता दिन कर्मचारीलाई जिम्मेवारी बाँडफाड गरी काम अघि बढाईसकेको छ ।’

सरसफाईको जिम्मा लिएका कर्मचारीले बिहिवार देखि सडक सरसफाई जुट्ने नगर प्रमुख यादवको भनाई छ । नगरसरसफाई राख्न सडकमा रहेका गिट्टि, बालुवाको उचित व्यबस्थापन र फोहोर वस्तु बटुलेर गुलरिया नगरपालिकाले बनाएको लुम्बिनी प्रदेशको नमुना ल्यान्डफिल्ड साईडमा लगेर काम लाग्ने वस्तुलाई छुटाउँने काम समेत गर्ने उनी बताउँछन् ।

सरसफाईका लागि १६ जना कर्मचारी फिल्डमा खटिने नगरपालिका स्टोर शाखा प्रमुख कपिल घिमिरेले बताए । ‘सरसफाईका लागि प्रयोग हुने स्रोत साधन चुस्त पार्ने काम भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर