काठमाडौं,
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठक बीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलिका तय भएको प्रतिनिधि सभाको बैठक बस्न अघि कार्यव्यवस्था समितिको बैठक बस्ने सुरसार नदेखिएपछि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सभामुखलाई फोन नै गरेर बैठक बोलाउन आग्रह गरेका हुन् ।भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालयले प्रतिनिधि सभाको सम्भावित कार्यसूची तय गर्नेछ । त्यसरी तयार गरिने कार्यसूचीमा ‘एमसीसी’ पर्ने नपर्ने टुंगो नहुने भएपछि देउवाले सभामुखलाई फोन गरेको बैठकमा सहभागी एक सांसदले बताए ।
यता, कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले पनि मंगलबार नै सभामुख सापकोटालाई कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । सो बैठकमा एमसीसीको कुरा उठाउने आफूहरुको तयारी रहेको बडुले बताए । उता, सभामुख सापकोटाले पनि दलहरुबीच सहमति भए आफूले एमसीसी टेबल गर्न नरोक्ने बताइसकेका छन् ।रातोपाटीबाट साभार