बर्दिया, चैत १ (फरकसमाचार) / अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयूक्त सुमित्रा अमात्यले भ्रष्टाचार गर्नेलाई कडा चेतावनी दिएकी छन् । ‘भ्रष्टाचार विरुद्ध सहकार्य सुशासनका लागि अपरिहार्य’ भन्ने मुलनाराकासाथ भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सोमबार आयोगकी आयूक्त अमात्यले बताएकी हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बटवल सम्पर्क कार्यालय नेपालगंजको आयोजनामा सोमबार गुलरियामा आयोजित अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार हुन नदिन आयोग सक्रिय रहेको दावी गरेकी छन् । भ्रष्टाचार रोक्न आयोग पहिलो निकाय रहेपनि भ्रष्टाचार गर्ने विरुद्ध आम नागरिकले बिरोध गर्नुपर्ने सुझाईन् ।
भ्रष्टाचार रोक्न आयोगलाई सबैको सहयोग खाँचो रहेको सुनाईन् । कृषिमा विभिन्न किसिमका अनुदान प्याकेजको नाममा बढी भ्रष्टाचार भईरहेको औल्याईन् । यस्ता किसिमका कार्य रोक्न जरुरी रहेको खुलाईन् । त्यसै गरी स्थानीय तहमा देखिएको बेरुजी फछ्यौट गर्न आयोगले विषेश पहल गरिरहेको विश्वास दिलाईन् ।
स्थानीय तहमा बेरुजी गरेका कर्मचारी वा जनप्रतिनिधिलाई बेरुजी फछ्यौट गर्नै पर्छ । सरकारको रकम हिनामिना गर्नेलाई आयोगले नछोड्ने सुनाईन् । सरकारले राष्ट्रसेवक कर्मचारीलाई सेवा सुविधा दिएको छ । सेवासुविधा उपभोग गर्दागर्दै भ्रष्टाचार गरे अख्तियार दुरुपयोगले कानुनी दायरामा ल्याउने कडा चेतावनी समेत दिएकी छन् । कुनै पनि काम गर्दा गलत नियत नराखी पारदर्शि तरिकाले काम गर्न आवश्यक निर्देशन दिएकी छन् । अन्तरक्रिया कार्यक्रमका सहभागीहरुलाई कतै भ्रष्टाचार भएको जानकारी पाउनसाथ हटलाईन नम्बर १०७ मा खबर गराईदिन आग्रहसमेत गरेकी छन् ।
बर्दियाका आठ वटै स्थानीय तहहरुको गत वर्ष ३३ र चालु आर्थिक वर्ष ०७८/०७९ को फागुन २६ गतेसम्म ३१ गरी ६४ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धानमा परेको रेकर्डले देखाएको छ । जसमा गत वर्ष ११ र चालु आर्थिक वर्षमा १८ वटा गरी २९ वटा उजुरी फछ्यौट गरिएको छ । गत वर्षको २२ र चालु आर्थिक वर्षको १३ गरी ३५ वटा उजुरी फछ्यौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांकले पुष्टि गर्छ ।
बढैयाताल गाउँपालिकाको गत वर्ष १२ र चालु आर्थिक वर्ष ०७८/०७९ को फागुन २६ गतेसम्म ९ गरी २१ वटा उजुरी परेको छ । ठाकुरबाबा नगरपालिकाको गत वर्ष ४ र चालु आर्थिक वर्षमा ५ गरी ९ वटा उजुरी परेको अख्यिारको तथ्यांकले देखाएको छ । गुलरिया नगरपालिकाको गत वर्ष २ र चालु आर्थिक वर्षमा १० गरी १२ वटा उजुरी परेको छ । बारबर्दिया नगरपालिकाको गत वर्ष ५ र चालु आर्थिक वर्षमा ३ गरी ८ वटा उजुरी परेको छ । बाँसगढी नगरपालिकाको गत वर्ष ५ र चालु आर्थिक वर्षमा ४ गरी ९ वटा उजुरी परेको छ ।
राजापुर नगरपालिकाको गत वर्ष ३ उजुरी परेको र चालु आर्थिक वर्षमा कुनै उजुरी नपरेको देखिएको छ । मधुवन नगरपालिकाको गत वर्ष १ उजुरी परेको छ भने चालु आर्थिक वर्षमा उजुरी परेको छैन । त्यसैगरी गेरुवा गाउँपालिकाको गत वर्ष १ उजुरी परेको छ भने चालु आर्थिक वर्षमा उजुरी परेको छैन । अख्तियार दुरुपयोग अनुसन्धानको तथ्यांक अनुसार बर्दिया जिल्लाको ८ वटै स्थानीय तह मध्ये सबै भन्दा बढी उजुरी परी पहिलो स्थानमा रहेको बढैयाताल गाउँपालिका हो । बढैयाताल गाउँपालिकाको अख्तियार दुरुपयोग अनुसन्धानमा २१ वटा उजुरी रहेको छ ।