गुलरिया (बर्दिया) चैत ७ (फरकसमाचार) / स्थानीय तहको चुनाव नजिकिदै छ । चुनावको चहल पहल बढेको छ । आगामी बैशाख ३० गते स्थानीय निर्वाचन हुने मिति तोकिएको छ । स्थानीय निर्वाचनलाई शान्तिपुर्ण ढंगाले सम्पन्न गर्न म्यादी प्रहरीको भर्ना प्रक्रिया आइतबारबाट सुरु भएको छ । म्यादी प्रहरीको भर्नाको लागि आइतबार आवेदन बुझाउने युवाहरुको भिडभाडले जिल्ला प्रहरी कार्यालय बर्दिया भरिभराउ देखियो । आवेदन संकलनको पहिलो दिनमै जिल्ला प्रहरी कार्यालय अस्तव्यस्त बन्यो ।
हातमा रेकर्ड फाईल बोकेर दौडधुप गरिरहेकी राजापुरकी सिमा चौधरीलाई चर्को घाम र अत्याधिक गर्मीको कुनै प्रर्वाह थिएन । उनलाई सिर्फ म्यादी प्रहरीमा जागिर खान फर्म बुझाउने मात्र ध्यान थियो । त्यस्तै दौडधुप गरिरहेका मधुवनका खिमराज सुनार देखिए । उनी कक्षा १२ पास छन् । उनी बैदेशिक रोजगारीबाट फर्किएको बताए ।
‘बिदेशबाट कोरोना महामारीले स्वदेश फर्किए’ उनले भने, ‘घरमै खाली बसेको अवस्थामा म्यादी प्रहरीको जागिर खान फर्म आएको छु ।’ आजभोली घरायसी काम गरि घरमै व्यस्त रहेको उनले सुनाएका थिए । अर्का मधुवनकै कुलदीप खत्री कक्षा १२ पास छन् । घरमा बुवा आमालाई कृषि कर्ममा सहयोग गर्दै आएको खत्रीले सुनाए । आफु तीन वर्ष बैदेशिक रोजगारमा रहि फर्किएको बताए । ‘नेपालमा बेरोजगारीको समस्या छ’ उनले भने,‘घरमा खाली बस्नु भन्दा म्यादी प्रहरीमा भर्ति हुन पाएँ आफुलाई आर्थिक सहयोग पुग्नेछ ।’
जिल्ला प्रहरी कार्यालय अगाडि तछाड मछाड गरिरहेका युवाहरुको जमातले सच्चै बेरोजगारी रहेको सावित हुन्छ । म्यादी प्रहरीमा जागिर खान सामान्य लेखपढ शैक्षिक योग्यता तोकिए पनि बेरोजगारीले गर्दा उच्च शिक्षा हासिल गरेका युवाहरुको आकर्षण बढी देखियो । यति बेला घरमै खाली बसिरहेका अधिकांश युवाको आकर्षणको केन्द्र म्यादी प्रहरी बनेको छ । म्यादी प्रहरीमा भर्ति हुन पाएँ आर्थिक सहयोग पुग्ने आशले आकर्षण बढेको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरि म्यादी प्रहरीको भर्नाको लागि आवेदन फर्म संकलनको काम आइतबार देखि सुरु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेम बहादुर शाहीले बताए । म्यादी प्रहरीको भर्नाको लागि चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन बुझाउने अवधि रहेको छ । चैत १३ गते सम्पर्क मिति राखिएको छ । चैत १५ गतेदेखि चैत २२ गतेसम्म म्यादी प्रहरीको छनौट हुनेछ । छनौट भएका म्यादी प्रहरीलाई चैत २८ गतेदेखि तालिम दिने योजना रहेको डिएसपी शाहीले जानकारी दिए । बर्दिया जिल्लामा १ हजार ५ सय ३९ जना म्यादी प्रहरीको भर्ना खोलिएको छ ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् । पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभवहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ । म्यादी प्रहरीको कार्य अवधी ४० दिन रहने छ । सो वापत जम्मा रु ३० हजार २ सय ४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत ७ हजार २ सय, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत १ हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।