युवतीहरुलाई एचआईभी सम्बन्धि सचेतना
बिहिबार, चैत १०, २०७८ मा प्रकाशित

गुलरिया(बर्दिया) चैत १० (फरकसमाचार) / गुलरिया नगरपालिका वडा नम्बर ६ का युवतीहरुलाई एचआईभी एड्स सम्बन्धि सचेतना गराईएको छ । ‘एचआईभी एड्स विरुद्ध हाम्रो अभियान’ भन्ने उदेश्यले बुधबार सचेतना गराईएको हो ।

गुलरिया नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग र सहयोगी हात नेपालको आयोजनामा सचेतनामुलक कार्यक्रम गरिएको छ । गुलरिया नगरपालिका लेखा अधिकृत रुप सिङ खत्रीले कार्यक्रममा सहभागि युवाहरुलाई आफुले सिकेका कुरालाई समाजका अन्य मानिसलाई सिकाउन आग्रह गरेका थिए ।

गुलरिया नगरपालिका वडा नम्बर ६ का सचिव विश्व प्रसाद अधिकारीले आफ्नो वडाका युवा युवतीलाई एचआईभी एड्सको जोखिमबाट बचाउनको लागि सचेतना मुलक अभियान चलाएको बताए । ‘युवा युवती सचेत भए यस रोगको जोखिमबाट बच्न सकिन्छ’ उनले भने,‘युवा वर्गलाई सचेतना गराउने उदेश्यले वडाले यस कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।’ यस सचेतनामुलक कार्यक्रमले एचआईभी एड्सको जोखिमबाट बच्न सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे ।

एचआईभी एड्सको जोखिमबाट कसरी बच्न सकिन्छ, के कस्ता सावधानी अपनाउन जरुरी छ इत्यादि विषयमा गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेले प्रशिक्षण गरेका थिए । आयोजक संस्था सहयोगी हात नेपालले जिल्लामा विगत १५ वर्षदेखि एचआईभी एड्स सम्बन्धि काम गर्दै आएको छ । संस्थाले जिल्लामा कसैलाई संक्रमण देखिए आवश्यक औषधी र परामर्श सेवा उपलब्ध गराईरहेको छ ।

एचआईभी एड्स सचेतना मुलक कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा सचिव विश्व प्रसाद अधिकारी, गुलरिया नगरपालिकाका लेखा अधिकृत रुप सिङ खत्री, स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डे, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य, सहयोगी हात नेपालकी कार्यवाहक अध्यक्ष निर्मला मैनाली र सचिव विष्णु प्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर