बर्दिया, चैत १२ (फरकसमाचार) / अहिले बाघ देखिने सिजन रहेकोले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ । यो सिजनमा निकुञ्ज सफरी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । निकुञ्ज सफरी गर्ने पर्यटकले बाघ देख्ने उदेश्यले जंगल सफरी जाने गर्छन् ।
गत मंगलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफरी गरेर फर्केका जर्मन र इजराईलबाट आएका पर्यटकहरु निकुञ्जको गेटमा निकै खुसी देखिन्थे । पाँहुनाहरुले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका कारण बढी खुसी देखिएको नेचर गाईड अनुराम चौधरीले बताए । ‘यो सिजनमा पर्यटकको इच्छा पुरा हुन्छ’ नेचर गाईड चौधरीले भने, ‘पर्यटकहरुले सफारी गर्दा मुख्य उदेश्य बाघ हेर्ने हुन्छ, जुन इच्छा अधिकांश पर्यटकहरुको पुरा हुन्छ ।’
बाघ कै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको कोर एरियामा सफारी तथा जंगल वाक गर्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । ‘चालु आर्थिक वर्षको हालसम्म ९ हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘जसमध्ये सात देशका पर्यटकहरु पर्यटकहरु निकुञ्ज घुमेका छन् ।’
आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । कोभिड–१९ महामारीका कारण गत आर्थिक वर्षमा जम्मा ८ हजार पर्यटकले मात्र निकुञ्ज घुमेका थिए । चालु आर्थिक वर्षको फागुन महिनासम्म मात्र ९ हजार भन्दा बढी पर्यटकहरु निकुञ्ज घुमेका छन् । ‘यो संख्या हाम्रो लागि सुखद रहेको छ’ प्रमुख संरक्षण अधिकृतले भने,‘अहिले बाघ देखिने सिजन भएकोले पर्यटकहरुको संख्या बढ्ने विश्वास छ ।’ निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले बाघलाई बढी प्राथमिकता दिएर निकुञ्ज घुम्न आएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाई छ ।