आयुर्वेद अस्पताल उद्घाटन कै दिन एक सय बढीले लिए सेवा
शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, पुस १५ (फरकसमाचार)/बिएमआई जनरल आयुर्वेद अस्पताल उद्घाटनकै दिन एक सय बढी बिरामीले सेवा लिएका छन् । अस्पताल उद्घाटनको अवसरमा वरिष्ठ र विषेशज्ञ आयुर्वेद चिकित्सकहरु द्वारा शुरुको दिनमा १ सय १९ जना बिरामीले सेवा लिएका हुन् ।

गुलरिया नगरपालिका–५ बाल मन्दिर टोलमा आयुर्वेद अस्पतालको शुक्रबार उद्घाटन भएको छ । गुलरिया मातङ्गी चोक देखि उत्तर तर्फ बर्दिया मेडिकल इन्स्टिच्यूटको भवनमा आयुर्वेद अस्पताल खुलेको छ ।

उपचारको लागि जिल्ला वासीलाई टाढा जाने बाध्यता हटेको बिएमआई जनरल आयुर्वेद अस्पतालका डाइरेक्टर सुधाकर मिश्रले बताए । आयुर्वेद पदतिबाट सम्पुर्ण रोगको उपचार सेवा दिने उदेश्यले अस्पताल खुलेको छ । कम खर्चमा रोगलाई जरादेखि नै निको गर्नेगरी आयुर्वेद अस्पतालबाट सेवा दिने डाइरेक्टर मश्रले विश्वास व्यक्त गरेका छन् ।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले आयुर्वेद अस्पतालको उद्घाटन गरेका छन् । अस्पताल उद्घाटन समारोहलाई नगर प्रमुख यादवले सम्बोधन गर्दै खुसी भएको बताए । गुलरियाको सदरमुकामा आयुर्वेद अस्पताल खुलेर नगरवासीले सहजै आयुर्वेद पदतिबाट उपचार सेवा पाउने विश्वास व्यक्त गरे । ‘आफ्नो जिल्लामा कमाएर अन्य जिल्लामा लगेर लगानी गर्ने व्यक्ति धेरै छन्’ नगर प्रमुख यादवले भने,‘तर आफ्नै जिल्लामा कमाएर आफ्नै जिल्लामा लगानी गर्ने सुधाकर मिश्र जस्ता व्यक्ति धन्यवादका पात्र हुनुहुन्छ ।’ आयुर्वेद पदतिबाट गरिने उपचार तुरुन्त नलाग्न सक्छ । तर, बिस्तारै लागे पनि रोगलाई जराबाटै निको गर्छ । यसलाई बुझाउन व्यापक प्रचार प्रसार गर्न आग्रहसमेत नगर प्रमुख यादवले गरे ।

आयुर्वेद पदतिबाट गरिने उपचार कम खर्चिलो र रोगलाई जराबाट निको गर्ने उद्घाटन समाहरोका सहभागीले बताएका थिए । आयुर्वेदिक डा.शिव राज सुवेदी, गिता रेग्मी र अनिल चौधरी द्वारा बिरामीले शुरुको दिनमा स्वास्थ्य चेकजाँच गराएका छन् । अस्पताल उद्घाटनको अवसरमा शुक्रबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्मा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर