बर्दिया,मंसिर ५ (फरकसमाचार)/ साझा सोच र अवधारणाको साथ अघि बढे सबैको हितको काम गर्न सकिने लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले बताएका छन् ।
बारबर्दिया नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिताको समुद्घाटन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी मैले पाएको मन्त्री तिमिल्सिनाले बताए । ‘त्यसैले म यहाका सम्पुर्ण राजनीतिक दललाई आग्रह गर्न चाहन्छु,’मन्त्री तिमिल्सिनाले भने,‘यदि सच्चिकै बारबर्दिया नगरपालिकालाई समृद्धशाली बनाउने हो भने वडा, नगर, प्रदेश र संघिय सरकारका आँखाबाट हेरिएका विषय वस्तुलाई मात्र देखेर समृद्धशाली बारबर्दिया बन्न सक्छ जस्तो मलाई लाग्दैन ।’ त्यसकारण समाजको आँखा, विकृति विसंगतिको अन्त्य गर्दै समृद्धितिर लम्किनुपर्छ ।
जसको लागि सबैको साझा अवधारणा र सोचको साथ एकताको जरुरी छ । सबै जना एकजुट भएर अघि बढ्यौ भने किसान, विद्यार्थी, समाज र खेलाडीको भविष्य निर्माण गरि बर्दिया मात्र नभई मुलुकलाई निकास दिलाउन सकिने मन्त्री तिमिल्सिनाले धारणा राखे ।