बर्दिया,मंसिर ९(फरकसमाचार)/ गुलरियामा सुरु भएको टि–२० क्रिकेट प्रतियोगिता (बर्दिया कप २०८१)को उद्घाटन खेलमा बर्दिया क्रिकेट एकेडेमी ए विजयी भएको छ । शनिबार भएको उद्घाटन खेलमा जनजागृति युवा क्लव मधुवनलाई हराउँदै बर्दिया क्रिकेट एकेडेमी ए विजयी भएको हो ।
टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय जनजागृतिले गरेको थियो । निर्धारित २० ओभरमा ८ बिकेट गुमाउँदै १ सय १३ रन जनजागृतिले जोड्न सफल भएको थियो । जसमा जनजागृति युवा क्लवका कप्तान निखिल खत्रीले सर्वाधिक २३ रन जोड्न सफल भए ।
जनजागृतिलाई सस्तोमा रोक्ने क्रममा बर्दिया क्रिकेट एकेडेमीका बिरु मगर र निर्मल गुरुङ्गले क्रमशः३ र २ बिटेक लिन सफल भएका थिए । १ सय १४ रन पछ्याएको बर्दिया क्रिकेट एकेडेमी ए ले सो लक्ष्य १६ ओभरमा ५ बिकेट गुमाई लक्ष्य पार गर्न सफल भएको थियो ।
बर्दिया क्रिकेट एकेडेमी ए का लागि समिर आचार्यले ५० र निर्मल गुरुङ्गले २९ रनको योगदान गरेका थिए । खेलका म्यान अफ दि म्याच समिर आचार्य घोषित भएका थिए ।
आज आइतबार पहिलो खेल कृष्णसार युवा क्लव गुलरिया भर्सेस बर्दिया क्रिकेट एकेडेमी र दोस्रो खेल बर्दिया क्रिकेट एकेडेमी ए भर्सेस राजापुर नगरपालिकाको हुने जिल्ला क्रिकेट संघ बर्दियाका सदस्य सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।
पहिलो खेल बिहान साढे ९ बजे र दोस्रो खेल दिउँसो १ बजे देखि हुने जनाईएको छ ।
गुलरिया नगरपालिका र ब्ल्याक बक युथ क्लवको सहयोग तथा जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा गुलरिया नगरपालिका–४ कबर्ड हल मैदानमा क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु भएको छ । प्रतियोगिताको फाइनल खेल मंसिर १४ गते हुनेछ । क्रिकेट प्रतियोगितामा जिल्लाका पाँच वटा टिमले सहभागिता जनाएका छन् ।