बर्दिया,मंसिर १०(फरकसमाचार)/ बर्दिया कप २०८१ को दोस्रो दिनको खेलमा कृष्णसार युवा क्लव र बर्दिया क्रिकेट एकेडेमी ए विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा कृष्णसार र दोस्रो खेलमा बर्दिया क्रिकेट एकेडेमी ए विजयी भएको हो ।
पहिलो खेलमा टस जितेर बर्दिया क्रिकेट एकेडेमी बि ले पहिलो व्याटिङ गरेको थियो । निर्धारित १७ ओभरमा बर्दिया क्रिकेट एकेडेमीले ७३ रन जोड्न सफल भएको थियो । जसमा कमल बिष्टले १४ र सिराज बागवान्ले ११ रनको योगदान दिएका थिए ।
बर्दिया क्रिकेट एकेडेमी बिलाई सस्तोमा रोक्ने क्रममा कृष्णसारका अनुज सिंह ठकुरीले २ र निखिल यादवले १ बिकेट लिएका थिए । ७४ रनको लक्ष्य पछ्याएको कृष्णसारले सो खेल १३ दशमलव ३ ओभरमा ४ बिकेट गुमाई ६ बिकेटले खेल जित्न सफल भयो । पहिलो खेलका म्यान अफ दि म्याच कृष्णसारका अनुज सिंह ठकुरी घोषित भएका थिए ।
दोस्रो खेलमा बर्दिया क्रिकेट एकेडेमीले पहिलो ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा सबै बिकेट गुमाई १ सय ३३ रन जोड्न सफल भएको थियो । जसका लागि असिम गिरीले ३१ बलमा ५५ र रुपेश बस्यालले ३० बलमा २१ रनको योगदान दिएका थिए । राजापुर बलिङ्ग तर्फ अजय साहनीले आफ्नो ४ ओभर गर्दै ५ बिकेट लिएका थिए ।
१ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा राजापुर नगरपालिका ८५ रनमा अल आउट भएको थियो । राजापुरका सर्वाधिक स्कोर विनायक गिरीले २२ रन बनाएका थिए । राजापुरले ४८ रनले खेल गुमाउन पुग्यो । दोस्रो खेलको म्यान अफ दि म्याच असिम गिरी चयन भएका थिए ।
आज सोमबार पहिलो खेल बर्दिया क्रिकेट एकेडेमी बि भर्सेस जनजागृति युवा क्लव र दोस्रो खेल राजापुर नगरपालिका भर्सेस कृष्णसार युवा क्लवको हुने जिल्ला क्रिकेट संघ बर्दियाका सदस्य सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।
पहिलो खेल बिहान साढे ९ बजे र दोस्रो खेल दिउँसो १ बजे देखि हुने जनाईएको छ । गुलरिया नगरपालिका र ब्ल्याक बक युथ क्लवको सहयोग तथा जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा गुलरिया नगरपालिका–४ कबर्ड हल मैदानमा क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु भएको छ । प्रतियोगिताको फाइनल खेल मंसिर १४ गते हुनेछ । क्रिकेट प्रतियोगितामा जिल्लाका पाँच वटा टिमले सहभागिता जनाएका छन् ।