बर्दिया कपको बिजेता राजापुर नगरपालिका
आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित

बर्दिया, मंसिर १६ (फरकसमाचार)/ गुलरिया टि–२० क्रिकेट प्रतियोगिता (बर्दिया कप २०८१)को बिजेता राजापुर नगरपालिका बनेको छ । जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा भएको क्रिकेट प्रतियोगितामा पाँच टिम मध्ये चार टिमलाई पछार्दै राजापुर बिजेता बनेको हो ।

शुक्रबार भएको फाइनल खेलमा बर्दिया क्रिकेट एकेडेमी (ए)लाई २१ रनले पराजित गर्दै राजापुर बिजेता बनेको हो । विजयसँगै राजापुर नगरपालिकाले नगद रु ५० हजार र उपविजेता बर्दिया क्रिकेट एकेडेमी (ए)ले नगद रु २५ हजार ५ सय प्राप्त गरेको छ ।

फाइनल खेलमा टस जितेर राजापुर नगरपालिकाले पहिलो ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरको खेलमा १६.३ ओभरमा १० वटै विकेट गुमाउँदै ९१ रन जोड्न सफल भएको थियो । राजापुरको तर्फबाट ब्याटिङ गर्दै सिद्धान्तराज शाहीले १७ बलमा २० रन बनाए भने सुलभ चौधरीले १६ बलमा १३ रनको योगदान दिएका थिए ।

बर्दिया क्रिकेट एकेडेमीको तर्फबाट कसिलो बलिङ गर्दै समिर आचार्यले ४ ओभरमा १८ रनको योगदान र ३ विकेट लिएका थिए । साथै रुपेश बस्यालले ४ ओरमा ३० रन, ३ विकेट लिएका थिए भने बिरु मगरले ४ ओभरमा १४ रन र २ विकेट लिन सफल भएका थिए । ९२ रनको लक्ष्य पछ्याउँदै बर्दिया क्रिकेट एकेडेमी (ए) निर्धारित २० ओभरको खेलमा १८.३ ओभरमा ७० रन मै अल आउट भएको थियो ।

बर्दिया क्रिकेट एकेडेमीको तर्फबाट ब्याटिङ गर्दै समिर आचार्यले २९ बलमा नट आउट २७ रन बनाउन सफल भएका थिए भने अश्विन गिरीले १४ बलमा ११ रन बनाउन सफल भएका थिए । राजापुरको तर्फबाट बलिङ गर्दै सौगात खत्रीले ४ ओभरमा १४ रन दिएर ४ विकेट लिएका थिए भने अजय साहनीले ४ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए ।
राजापुरका सौगात खत्री म्यान अफ दि म्याच घोषित भएका थिए । प्रतियोगिता भरिको म्यान अफ दि सिरिज भने राजापुर नगरपालिकाका सिद्धान्तराज शाही भएका थिए । ब्ल्याक बक युथ क्लबका अध्यक्ष बिमल केसीले बिजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर