बर्दिया,पौष २८(फरकसमाचार)/ भुरिगाउँमा प्रथम ठाकुरबाबा उद्योग, कृषि, पर्यटन, प्रविधि तथा सांस्कृतिक महोत्सव हुदैछ । ठाकुरबाबा नगरपालिका–२ भुरिगाउँ स्थित महोत्सव हुने जनाईएको हो । ठाकुरबाबा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा माघ १४ गते देखि २४ गतेसम्म महोत्सव चल्ने जनाएको छ ।
व्यवसायीक क्षेत्रको विकास, घुम्न जाउँ बर्दिया अभियानलाई प्रवद्र्धन प्रचार प्रसार, पर्यटकीय क्षेत्रको उन्नती, सांस्कृतिक जर्गेना, धार्मिक तथा व्यापारको प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले महोत्सवको आयोजना गरिएको ठाकुुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गणेश कुवँरले बताए । ‘समृद्ध ठाकुरबाबाको प्रमुख आधार पर्यटन, कृषि, प्रविधि, व्यापार र पुर्वाधार भन्ने मुलनाराका साथ महोत्सवको आयोजना भएको छ’अध्यक्ष कुवँरले भने,‘यस महोत्सवलाई सफल बनाउन सबैको साथ सहयोगको अपेक्षा गरेका छौं ।’ महोत्वसमा एक लाख बढी अवलोकन कर्ताले अवलोकन गर्ने अध्यक्ष कुवँरको दावी छ ।
महोत्वसमा स्थानीय उत्पादित वस्तुको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती, स्थानीय भेषभुषा भल्किने झाँकीलगायत मुख्य आकर्षणहरु रहने जनाईएको छ ।
महोत्सवमा १ सय २० बढी स्टल रहने ठाकुरबाबा उद्योग वाणिज्य संघका महासचिव गोपाल निरौलाले बताए । ‘जसमा एकल महिला, अपाङ र अशक्तले स्थानीय उत्पादन राख्न दश वटा स्टलसम्म निशुल्क उपलब्ध गराउने वातावरण मिलाएका छौं,’महासचिव निरौलाले भने,‘त्यसैगरि टिकट प्रति व्यक्ति रु एक सय तोकिएको छ ।’ विद्यार्थीलाई ३० प्रतिशत छुट गरिने महासचिव निरौलाले जनाए ।
महोत्सवले कला, संस्कृति, स्थानीय उत्पादन, पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसार गर्नुको साथै यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास रहेको ठाकुरबाबा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र पंगेनीले जनाए । महोत्सवमा रु ७० लाख खर्च हुने आयोजकको अनुमान छ ।