प्रकाश पौडेल
बर्दिया,माघ २८ / रोजगारीको खोजीमा विदेश पलायन हुने युवाको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । देशमा केही पनि गर्न सकिएन । देशमा काम गर्ने वातावरण छैन । राम्रो काम गर्नेलाई अवसर छैन कयौँले भन्ने गरेका छन् । सीप भए देशमा केही गर्न सकिन्छ, भनी कैलाली लम्कीचुहा नगरपालिकाका ४० वर्षीय राजु चौधरीले झोला उद्योग सञ्चालन गरि देखाएका छन् ।
चौधरीले गुलरिया नगरपालिका –५ शहीद यमलाल लामिछाने चोक नजिक राजु झोला उद्योग सञ्चालन गरेका छन् । उनले दैनिक रुपमा विभिन्न डिजाइनका झोला निर्माण गर्दै बिक्री वितरण गर्दै आएका छन् ।
बर्दियामा पहिलो पटक झोला उद्योग सञ्चालन गरेका चौधरीले दैनिक २० वटासम्म झोला एक जनाले निर्माण गर्न सकिने बताउँछन् । उनले भने, ‘स्थानीय बजारमा झोलाको माग रहेको छ । तर समयमा पैसा नउठ्ने समस्याले गर्दा थप लगानी गर्न सकेको छैन । तर पछिल्लो समयमा उद्योगसम्म आएर झोला किन्नेको सख्या बढ्दै गएको छ । अझैपनि धेरैलाई झोला उद्योगको बारेमा पनि थाहा नभएर होला सोचे अनुसार व्यापार हुन सकेको छैन । प्रचार प्रसार हुन सके झोला उद्योगको राम्रै सम्भावना छ । देशमा अवसर देखेर नै झोला उद्योग खोलेको हुँ ।’
रु १० लाख लगानी गरेर विगत एक वर्ष देखि गुलरियामा उद्योग सञ्चालन गरेका चौधरीले व्यवसायबाट सन्तोषजनक रहेको सुनाउँछन् ।
उनले भने,‘सुरुको दिनको तुलनामा अहिले व्यापार सन्तोषजनक रहेको छ । आजकाल विद्यार्थीहरू झोला किन्न यहीँ आउने गरेको छन्, भने विभिन्न संघसंस्थाबाट समेत झोलाको माग हुने गरेको छ ।’ चौधरीले घरेलु तथा साना उद्योगको कार्यालयमा गत आर्थिक वर्षको असोजमा झोला उद्योग दर्ता गरेर झोला निर्माणको काम सुरु गरेका थिए ।
उद्योगबाट निर्माण भएको झोलाको बिक्री वितरणबाट आफू सन्तुष्ट रहेको चौधरी बताए । घरेलु तथा साना उद्योग कार्यालयमा झोला उद्योगको लागि बजेट रहेको जानकारी पाएपनि आफूले सो कार्यालयबाट कुनै सहयोग नलिएको सुनाए । उनले भने,‘उद्योग सञ्चालनका लागि अनुमति लिने बितीकै अनुदानको लागि दर्ता गरेको जस्तो हुने भएकोले पनि अनुदान नलिएको हो ।’
दुई सयदेखि २५ सय सम्मका झोला
राजु झोला उद्योगमा एक सय ८० रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्मका झोला पाइन्छ । उद्योगमा सामान्य देखि फेन्सी डिजाइनका झोला उपलब्ध छ । फेसन अनुसारको झोला डिजाइन झोला निर्माण गरेको चौधरीको भनाई छ । विद्यालय कक्षा कोठामा भन्दा पनि सानैदेखि मेसिनमा रुचि राख्ने चौधरी कक्षा २ मा पढ्दा पढ्दै पढाइ छोडेर सिलाउने काममा रमाएको सुनाउँछन् । त्यहीँ सिलाउने सीपका कारण झोला उद्योग सञ्चालन गरेर झोला उद्योगको मालिकसमेत भएका छन् ।
कैलालीमा झोला निर्माण गर्न सिकेका चौधरीले काठमाडौँ, नेपालगन्जमासमेत झोला निर्माण गर्ने काम गरिसकेका छन् ।
चौधरी भने, ‘झोला बनाउन थालेको पनि २० वर्ष भयो । अन्य ठाउँमा काम गर्दा मेरो काम झोलाको डिजाइन निर्माण गर्ने हुन्थ्यो । तर अहिले आफ्नो उद्योग सञ्चालन गरेपछि आफैले सिलाउने समेत गरेको छु ।’ झोला निर्माणका लागि आवश्यक पर्ने सामान बुटवलबाट ल्याउने गरेको र नपुगेको खण्डमा नेपालगन्जबाट ल्याउने गरेको चौधरीले जनाए ।
झोला उद्योग सञ्चालन गरेर घरपरिवारको साथमा बसेर काम गर्न पाउँदा चौधरी खुशी देखिन्छन् । सीप भएमा देशमा बसेर काम गर्न सकिने चौधरीले सन्देश दिएका छन् ।