भोजपुर, फागुन १८ : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा निःशुल्क स्वास्थ्य शिविरमार्फत ७०० जनाले स्वास्थ्य सेवा पाएका छन् । नोबेल मेडिकल कलेज विराटनगरको आयोजना तथा वडाको प्रायोजनमा भएको शिविरमा ४१३ महिला र २८७ पुरुषले सेवा लिएका हुन् ।
शिविरमा २३ जना चिकित्सकद्वारा फिजिसियन, स्त्रीरोग, बालरोग, छाला रोग, मानसिक रोग, हाडजोर्नी तथा नसा रोग, शल्यक्रिया, न्यूरो सर्जरी, दन्त रोगसँगै नाक, कान र घाँटीको परीक्षण गरिएको थियो । स्थानीयस्तरका नागरिकलाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
स्वास्थ्य सेवा लिनका लागि जिल्ला अस्पताल तथा जिल्लाभन्दा बाहिर जानुपर्ने अवस्थामा आफ्नै ठाउँमा सेवा लिन पाउँदा समयसँगै खर्चको पनि बचत भएको स्थानीयवासीले बताएका छन् ।